नेपालमा चार सय पचास जनाको कोरोना परीक्षण

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०७६, १७ : ०१
नेपालमा चार सय पचास जनाको कोरोना परीक्षण

काठमाडौँ । नेपालमा अहिलेसम्म ४ सय ५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्‍वका १ सय २० देशमा पुगिसकेको कोरोना भाइरसबारेमा मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
  
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य परीक्षणसहितका काम भइरहेका छन्। ‘हालसम्म ४५० जनामा कोरोना भाइरस परीक्षण भइसकेको छ’, उनले भने, ‘तीमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएका बिरामी अहिले ठीक भइसकेका छन्।’

देवकोटाका अनुसार कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन्। त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ।

सरकारले चीनको वुहानबाट उद्धार गरी ल्याएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा १६ दिन राखेर बिदा गरिसकेको छ। चीनबाट ल्याइएका सबै १७५ जनामै कोरोना नेगेटिभ देखिएको थियो।

बिहीबारसम्म कोरोना विश्‍वका १ सय २० देशमा पुगिसकेको छ। हालसम्म ४ हजार ६ सयजनाले ज्यान गुमाइसकेका छन्। चीनमा मृतकको संख्या ३ हजार १ सय ६९ पुगेको छ। त्यसपछि इटालीमा ८ सय २७ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस