देशमा लगानीमैत्री व्यवसाय र व्यवसायीमैत्री वातावरण बनाउन आवश्यक :  उपाध्यक्ष ढकाल

विहीबार, २९ फागुन २०७६, १३ : ११
देशमा लगानीमैत्री व्यवसाय र व्यवसायीमैत्री वातावरण बनाउन आवश्यक :  उपाध्यक्ष ढकाल

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ । 
साधारण सभामा वरिष्ठ उपाध्यक्षको लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकालले यसअघि नै उमेदवारी घोषणा गरिसकेका छन् । 

उम्मेदवारी घोषणा गरेका ढकालले निजी क्षेत्रको समस्या समाधानमा महासंघको भूमिका, पछिल्लो समयमा महासंघ अवस्था, उमेदवारको एजेन्डालगायतका विषयमा केन्द्रित रहेर आफ्नो भनाइ सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्षको उमेदवारी घोषणा गरेका  ढकालका भनाइहरु उनकै शव्दमा :

म महासंघमा गएर गर्ने काम धेरै छन् । देशमा औद्योगिक तथा व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ । उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रिया सहज बनाउनुपर्नेछ । समय प्रक्रियाका कारण बढ्ने उत्पादन लागतलाई घटाउनुपर्नेछ । 

त्यस्तै उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा आवश्यक ईआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झन्झटलाई छोट्याउनुपर्नेछ । निर्यात व्यापार बढाउन आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेछ । सरकारी निकायबीच सहकार्यको अभावमा एउटा निकायबाट फर्स्योट भएको विषयलाई अर्को निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ । 

व्यवसायीहरूबाट सहज र वैज्ञानिक रूपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । दुविधा भएका कर कानुनहरूलाई समयानुसार परिमार्जन गर्नुपर्नेछ । महासंघको सचिवालय सुदृढीकरणदेखि साना, मझौला तथा ठूला उद्योगका धेरै विषयहरूमा हामीले अहिले अगाडि बढाएका काम बाँकी छन् । 

यी सबै एजेन्डाहरूमा पैरवी गर्न पनि म महासंघको नेतृत्वमा पुग्नुपर्नेछ । एउटा निकायबाट पार लागेको कर, सम्पत्तिको विषयलाई अनेक निकायबाट छानबिनको विषय बनाउने परिपाटीको समाधान गर्नुपर्नेछ । भीसीटीएस र अनिवार्य पानजस्ता विषयले साना तथा मझौला उद्यमी समस्यामा छन् । यसको दीर्घकालीन समाधान खोज्नुपर्नेछ । निजी सम्पत्तिमाथिको अधिकारलाई ग्यारेन्टी गर्ने, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरी विदेशी लगानीलाई आकर्षित गर्नुपर्नेछ ।

महासंघजस्ता संस्थालाई विज्ञ संस्थाका रूपमा विकास गर्नुपर्ने अवस्था छ । विदेशी लगानी नेपालमा भित्र्याउनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारी साथीहरूलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन धेरै काम गर्न बाँकी नै छ । समग्रमा भन्नुपर्दा हामीले देशमा लगानीमैत्री, व्यवसाय र व्यवसायीमैत्री वातावरण बनाउने हो । व्यवसाय र व्यवसायीहरूको हितमा म एक व्यवसायी लाग्ने हो ।

त्यसका लागि देश घुमेको र साना ठूला सबै व्यवसायी साथीहरूको समस्या बुझेको तथा आफै पनि सामान्यबाट व्यवसाय थालेको म जस्तो व्यक्तिले यहाँसम्म आइपुग्दा देखेका, भोगेका संघर्षहरूलाई व्यवहारमा उतारेर आगामी दिनका लागि महासंघलाई सबैको साझा र शीतल चौतारी बनाउने हो । यी सबैका लागि मैले आफूले भूमिका खेल्ने ठाउँ देखेको छु र त्यसैका लागि मेरो उमेदवारी हो ।

प्यानल बनाएको छैन 

मैले प्यानलको घोषणा गरेको छैन । मेरो उमेदवारी घोषणा कार्यक्रममा पनि म एक्लैले घोषणा गरेको थिए । एक्लै घोषणा गर्दा सहमतिका लागि बाटो खुला रहोस् भनेर पनि मैले एक्लै घोषणा गरेको हुँ । सकेसम्म सहमति र समझदारीबाट पदाधिकारीहरू निर्वाचित हुनु राम्रो हो । 

तर आफ्नो प्यानल बनाउँदा भोलि महासंघमा काम गर्दा सहज हुन्छ भने प्यानल बनाएर खाँसै असर गर्छ जस्तो मलाई लाग्दैन । महासंघ, व्यवसायी र व्यवसायीका हकहितमा काम गर्न प्यानल बनाउने हो भने त्यसले खासै केही नकारात्मक असर पर्ला जस्तो मलाईचाहिँ लाग्दैन । 

प्यानल आफैंमा नराम्रो होइन । यो पनि एउटा प्रजातान्त्रिक प्रक्रिया नै हो । मैले अघि नै भनी सके कि सकेसम्म सहमतिको कुरा गर्ने हो तर यदि त्यो सम्भव भएन भने त चुनावमा जानुपर्यो । चुनाव पनि नेतृत्व छनोट गर्ने एउटा प्रजातान्त्रिक विधि नै हो ।

व्यवसायीकै हकहितमा काम गर्न, महासंघलाई थप सशक्त र सबल बनाउन प्यानल बनाउने कुरा गलत हुँदै होइन ।प्यानल भनेको आफ्नो टिम हो । यो–यो व्यक्ति मेरो टिममा हुँदा मलाई निजी क्षेत्रका समस्या समाधान गर्न, सरकारसँग नेगोसिएसन गर्न, देशमा व्यावसायिक वातावरण बनाउन सहज हुन्छ भनेर टिम बनाउने हो भने किन नराम्रो मान्नु पर्यो । 

टिम नभई एक्लैले काम गर्न सक्ने पनि होइन । यसमा त्यति नेगेटिभ नै हुनु आवश्यक देख्दिन म त । तथापि सहमतिको प्रयास हुनु राम्रो छ । अर्को कुरा महासंघको विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने जुन व्यवस्था भयो त्यो व्यवस्था अध्यक्षलाई निर्विवाद र न्युट्रल बनाएर उसको कार्यकाल सजिलो होस् भन्नका लागि गरिएको हो । 

यस्तै चुनावले अध्यक्षलाई विवादित बनाउने र अध्यक्षले काम गर्न असहज वातावरण बन्ने गरेकाले त्यस्तो व्यवस्था गरिएको थियो । म हरेक साताजस्तो विभिन्न जिल्ला, नगरले आयोजना गरेका कार्यक्रमहरूमा पूर्वदेखि पश्चिमसम्म पुग्ने गरेको छु । जिल्लाका साथीहरूले बोलाएका ठाउँमा म प्रायः पुग्ने गरेको छु । यो मेरो व्यावसायिक नेटवर्कका कारण पनि हो ।

हरेक जिल्ला, नगरसम्म मेरो आफ्नै व्यावसायिक नेटवर्क पनि फैलिएको छ । यो नेटवर्कका कारण म व्यवसायीहरूसँग टाढा रहन पनि सक्दिनँ । मेरो आफ्नो व्यावसायिक नेटवर्क नै यस्तो छ कि यिनै व्यवसायी साथीहरूसँग म चौबीसै घण्टा रहन्छु ।

अर्को कुरा मेरोे व्यवसाय सिस्टमले सञ्चालन हुने गर्छ । सिस्टममा चल्ने हुँदा महासंघमा आवश्यक समय दिन मलाई केही गाह्रो छैन र हुँदैन पनि । म पनि सधैं सहमति कै पक्षमा छु । सकेसम्म सहमति गर्ने हो । मेरो विगतलाई हेर्ने हो भने म हरेक ठाउँमा सहमतिमै काम गर्ने गरेको छु । 

अझ महासंघको मेरो यात्रालाई लिने हो भने त म उपाध्यक्षमा पनि सहमतिबाटै आएको हुँ । दुई–दुईपटक कार्यसमितिमा सर्वसम्मत वा लोकप्रिय मतका साथ आएको छु । यसले म सहमतिको पक्षमा रहेको स्पष्ट हुन्छ । तर यसको मतलब चुनाव गलत हो, चुनाव नै हुनु हँुदैन भन्ने चाँही होइन । 

चुनावले कुनै पनि संस्था कमजोर हुँदैन । स्वच्छ र प्रजातान्त्रिक प्रतिष्पर्धाले महासंघलाई अझ बलियो बनाउँछ । मैले अघि नै भनिसकें म सधैं सहमतिकै पक्षपाति हो । पूर्वअध्यक्षहरूले सहमतिको निर्णय गर्दा उमेदवारको व्यक्तिगत स्थिति र मतदाताको चाहनालाई मध्यनजर गरेर गर्नुहुनेछ । 

यदि न्यायसंगत निर्णय हुन्छ भने म पनि त्यसलाई स्वीकार गर्छु । मलाई विश्वास छ, उहाँहरूले सहमतिको प्रयास गर्दा अहिले देखिएका उमेदवारको व्यक्तिगत तथा व्यावसायिक अवस्था र मतदाताको आकांक्षालाई मध्यनजर गरेरै त्यस्तो निर्णय गर्नुहुनेछ । 

चुनाव जित्नेमा ढुक्क छु 

अहिलेको अवस्थामा म आफूले चुनाव जित्ने कुरामा शतप्रतिशत ढुक्क छु । मलाई जिल्ला नगर, एसोसिएट तथा वस्तुगत संघका साथीहरूले गरेको विश्वास, मेरो आफ्नै व्यावसायिक नेटवर्कले गर्दा म आफू चुनाव जित्ने त पक्कापक्की नै छ । 
हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैंक, इन्सुरेन्स, मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्लाका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौं । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जितलाई सुनिश्चत गरिसकेको छ । 

हेर्नुस्, म उपाध्यक्ष भएदेखि नै महासंघकै काम र कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु । प्रदेश, जिल्ला–नगर तथा वस्तुगत संघका साथीहरूले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ । अधिवेशन, साधारणसभा हुन् या ठाउँ–ठाउँमा भए गरेका महोत्सव या अन्य कार्यक्रमहरू, उहाँहरूले बोलाउनुभएको ठाउँमा मिलेसम्म र भ्याएसम्म म पुगेको छु । 

उहाँहरूले आफ्ना समस्या, गुनासा र अप्ठेराहरू राख्नुभएको छ । उहाँहरूका सुख, दुःखका धेरै कुरा मैले सुनेको छु र सक्नेसम्म समाधानमा लागि परेको पनि छु । जुन कुरा साथीहरूले मनन् पनि गर्नुभएको छ । 

मलाई नेतृत्वमा ल्याउन उहाँहरूको ठूलो सदासयता र आग्रह छ । त्यसैले देशभरका आदरणीय व्यवसायी साथीहरूको आग्रह र सदासयताका कारण पछि हट्न मिल्ने र सक्ने अवस्था नै छैन । त्यसैले वरिष्ठ उपाध्यक्ष हुनेमा म ढुक्क छु ।