चितवनमा एसईई परीक्षाको तयारी पूरा, ४२ केन्द्र निर्धारण

मंगलबार, २७ फागुन २०७६, १७ : ३५
चितवनमा एसईई परीक्षाको तयारी पूरा, ४२ केन्द्र निर्धारण

चितवन । चितवन जिल्लामा यही चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले चितवन जिल्लामा एसईई परीक्षाको तयार पूरा भएको जानकारी दिए । 

२०७६ सालको एसईई परीक्षाको लागि चितवन जिल्लामा यस पटक पनि ४२ वटा केन्द्र तोकिएको छ । अघिल्लो साल पनि चितवन जिल्लामा ४२ वटा केन्द्र नै थियो । शिक्षा समन्वयका प्रमुख सुवेदीका अनुसार चितवन जिल्लामा मर्यादापूर्वक, नियमसंगत, शान्त वातावरणमा एसईई परीक्षा हुनेछ । 

प्रमुख सुवेदीले कुनै पनि स्कुलमा होम सेन्टर नहुने जानकारी दिए । उनले भने, ‘विगतका वर्षहरुमा पनि होम सेन्टर थिएन, अहिले पनि होम सेन्टर उपलब्ध गराइएको छैन, परीक्षालाई मर्यादित बनाउनकै लागि होम सेन्टर दिने परिपाटीको अन्त्य गरिएको छ ।’

यस वर्ष चितवनको एसईई परीक्षामा नियमित र एक्जाम्टेड गरी ११ हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ मात्र ११ हजार २५५ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । एक्जाम्टेडतर्फ चितवनमा ५० जना सहभागी हुँदैछन् । 

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत दीपेन्द्रराज श्रेष्ठका अनुसार विद्यार्थीलाई सकेसम्म पायक पर्ने स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु हुन र यसअगावै विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ । 

चितवनमा रहेका ६ वटा स्कुलले प्राविधिक धारका विषय पढाइरहेका छन् । ती ६ वटा स्कुलका १८१ जना विद्यार्थीहरुले पनि एसईई परीक्षा दिँदैछन् । यसपटकको एसईईमा सहभागी विद्यार्थीमध्ये ५ हजार ५३९ छात्र र ५ हजार ७१६ छात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ । 

प्रमुख सुवेदीका अनुसार छात्रको तुलनामा छात्राको संख्या बढी छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट कपी र प्रश्नपत्र चितवन जिल्लामा आइसकेको छ । 
चितवनमा यसपटक ६ दृष्टिविहीनले पनि एसईई परीक्षा दिँदैछन् । चितवनमा गत वर्ष ११ हजार २५४ विद्यार्थी परीक्षामा सहभागी थिए । चितवनमा ९७ सामुदायिक, १२२ संस्थागत र एक खुला विद्यालय छ । 

परीक्षाको ग्रेडिङ प्रणालीमा नतिजा 

केहीवर्ष अघिदेखि लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरुमा कुन ग्रेड आए कक्षा ११ मा कुन विषय पढ्न पाउने अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यस सम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुग्न नसक्दा अन्यौलता सिर्जना भएको हो । शिक्षा मन्त्रालयले बनाएको मापदण्ड पनि अपूर्ण छ ।

‘लेटर ग्रेडिङ’ प्रणाली शैक्षिक सुधारका लागि विश्व बैङ्कले ल्याएको अवधारणा हो । विश्वका एकसय ४६ मुलुकमा ग्रेडिङ प्रणाली लागू भएको छ । यद्यपि कतिपय देशहरुमा यो प्रणाली असफल समेत भएका छन् । ‘लेटर ग्रेडिङ’ प्रणाली अन्तर्गत नौ श्रेणीहरु छुट्याएको हुन्छ । जसमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन हुन्छ ।

९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी श्रेणी भनी छुट्याइएको छ । त्यसैगरी ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।

विज्ञान समूह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने प्रावधान छ । यस्तै व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्नेछ भने मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक छ ।

त्यसैगरी प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस चाहिन्छ । इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने प्रावधान गरेको मन्त्रालयले कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने व्यवस्था लागू गरेको छ ।