चितवन । चितवन जिल्लामा यही चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले चितवन जिल्लामा एसईई परीक्षाको तयार पूरा भएको जानकारी दिए ।
२०७६ सालको एसईई परीक्षाको लागि चितवन जिल्लामा यस पटक पनि ४२ वटा केन्द्र तोकिएको छ । अघिल्लो साल पनि चितवन जिल्लामा ४२ वटा केन्द्र नै थियो । शिक्षा समन्वयका प्रमुख सुवेदीका अनुसार चितवन जिल्लामा मर्यादापूर्वक, नियमसंगत, शान्त वातावरणमा एसईई परीक्षा हुनेछ ।
प्रमुख सुवेदीले कुनै पनि स्कुलमा होम सेन्टर नहुने जानकारी दिए । उनले भने, ‘विगतका वर्षहरुमा पनि होम सेन्टर थिएन, अहिले पनि होम सेन्टर उपलब्ध गराइएको छैन, परीक्षालाई मर्यादित बनाउनकै लागि होम सेन्टर दिने परिपाटीको अन्त्य गरिएको छ ।’
यस वर्ष चितवनको एसईई परीक्षामा नियमित र एक्जाम्टेड गरी ११ हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ मात्र ११ हजार २५५ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । एक्जाम्टेडतर्फ चितवनमा ५० जना सहभागी हुँदैछन् ।
शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत दीपेन्द्रराज श्रेष्ठका अनुसार विद्यार्थीलाई सकेसम्म पायक पर्ने स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेबाट परीक्षा सुरु हुन र यसअगावै विद्यार्थी परीक्षा हलमा प्रवेश गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ ।
चितवनमा रहेका ६ वटा स्कुलले प्राविधिक धारका विषय पढाइरहेका छन् । ती ६ वटा स्कुलका १८१ जना विद्यार्थीहरुले पनि एसईई परीक्षा दिँदैछन् । यसपटकको एसईईमा सहभागी विद्यार्थीमध्ये ५ हजार ५३९ छात्र र ५ हजार ७१६ छात्रा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ ।
प्रमुख सुवेदीका अनुसार छात्रको तुलनामा छात्राको संख्या बढी छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट कपी र प्रश्नपत्र चितवन जिल्लामा आइसकेको छ ।
चितवनमा यसपटक ६ दृष्टिविहीनले पनि एसईई परीक्षा दिँदैछन् । चितवनमा गत वर्ष ११ हजार २५४ विद्यार्थी परीक्षामा सहभागी थिए । चितवनमा ९७ सामुदायिक, १२२ संस्थागत र एक खुला विद्यालय छ ।
परीक्षाको ग्रेडिङ प्रणालीमा नतिजा
केहीवर्ष अघिदेखि लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरुमा कुन ग्रेड आए कक्षा ११ मा कुन विषय पढ्न पाउने अझै स्पष्ट हुन सकेका छैनन् । शिक्षा मन्त्रालयले यस सम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुग्न नसक्दा अन्यौलता सिर्जना भएको हो । शिक्षा मन्त्रालयले बनाएको मापदण्ड पनि अपूर्ण छ ।
‘लेटर ग्रेडिङ’ प्रणाली शैक्षिक सुधारका लागि विश्व बैङ्कले ल्याएको अवधारणा हो । विश्वका एकसय ४६ मुलुकमा ग्रेडिङ प्रणाली लागू भएको छ । यद्यपि कतिपय देशहरुमा यो प्रणाली असफल समेत भएका छन् । ‘लेटर ग्रेडिङ’ प्रणाली अन्तर्गत नौ श्रेणीहरु छुट्याएको हुन्छ । जसमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन हुन्छ ।
९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी श्रेणी भनी छुट्याइएको छ । त्यसैगरी ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।
विज्ञान समूह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने प्रावधान छ । यस्तै व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्नेछ भने मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक छ ।
त्यसैगरी प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस चाहिन्छ । इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने प्रावधान गरेको मन्त्रालयले कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने व्यवस्था लागू गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक