कोरोना भाइरस (कोभिड–१९)

कोरोना संक्रमित महिलाको तुलनामा पुरुषको मृत्यु हुने जोखिम बढी

एजेन्सी

सोमबार, २६ फागुन २०७६, १५ : ५३
कोरोना संक्रमित महिलाको तुलनामा पुरुषको मृत्यु हुने जोखिम बढी

चीन । विश्वव्यापी त्रास बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएमा महिलाभन्दा पुरुषलाई बढी जोखिम हुने देखिएको छ ।

चीनमा भएको अध्ययनमा कोरोना संक्रमित महिलाको तुलनामा पुरुषको मृत्यु हुने जोखिम बढी देखिएको हो । बालबालिकाको तुलनामा संक्रमित पाको उमेरका व्यक्तिको मृत्यु हुने सम्भावना बढी देखिएको छ । 

चीनको रोग नियन्त्रण केन्द्रले गरेको अध्ययनमा महिला तथा बालबालिकामा कोरोनाको गम्भीर प्रभाव पुरुष तथा पाको उमेरका व्यक्तिमा भन्दा कम देखिएको हो । ४४ हजार व्यक्तिमा गरिएको अध्ययनमा कोरोना संक्रमित भएका मध्ये २ दशमलव ८ प्रतिशत पुरुषको मृत्यु भएको छ । तर महिलामा यो दर १ दशमलव ७ प्रतिशत छ । 

संक्रमित भएका बालबालिका तथा किशोरकिशोरी मध्ये मृत्यु हुनेको संख्या ०।२ प्रतिशत मात्रै छ । पाको उमेरका व्यक्तिमा भने यो दर बढी रहेको केन्द्रले जनाएको छ । ८० वा त्यो भन्दा माथिको उमेरका संक्रमित व्यक्तिमा मृत्युदर झण्डै १५ प्रतिशत देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कोरोना संक्रमितमा हुन सक्ने गम्भीर जोखिम महिला तथा बालबालिकामा कम देखिएको हो । यसको कारण महिला तथा बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता बढी भएको वा उनीहरुमा संक्रमणको जोखिम तुलनात्मक रुपमा कम हुन सक्ने अध्ययनमा संलग्नले बताएका छन् ।

बालबालिकाहरुलाई कुनै पनि नयाँ संक्रमण फैलिएमा अभिभावकले बढी ख्याल गर्ने र सावधानी अपनाउने भएकाले उनीहरुमा संक्रमण कम हुन्छ । तर महिलामा गम्भीर प्रभाव कम देखिनुको कारण जीवनशैली रहेको अनुसन्धानकर्ताले बताएका छन् । महिलाको तुलनामा पुरुषको जीवनशैली स्वास्थ्यका हिसाबले खराब हुने गरेको छ ।

विश्वव्यापी रुपमा नै महिलाको तुलनामा पुरुषहरुले बढी धुम्रपान गर्ने गर्छन्, जसले गर्दा फोक्सोमा समस्या ल्याउँछ । चीनमा झण्डै ५२ प्रतिशत पुरुषले धुम्रपान गर्छन् भने धुम्रपान गर्ने महिलाको संख्या मात्रै तीन प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस