मध्यरात सांग्रिला होटलमा पूर्वपञ्चहरुको पार्टीमा ‘एकता’

२८ फागुनमा एकता घोषणा सभा हुने, पार्टीमा तीन अध्यक्षको ब्यवस्था

आइतबार, २५ फागुन २०७६, ०८ : २२
मध्यरात सांग्रिला होटलमा पूर्वपञ्चहरुको पार्टीमा ‘एकता’

काठमाडौं । पूर्वपञ्चहरुको पार्टीमा एकता हुने भएको छ । शनिबार दिउँसो भड्कियो भनेको एकता प्रक्रिया मध्यरात हुनै लाग्दा भने एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

राप्रपा र राप्रपा संयुक्त बीच एकीकरण सम्वन्धी अवधारणा पत्रमा शनिबार साँझ हस्ताक्षर भएको छ । १० वुँदे अवधारणा पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्दय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।  एकतापछि पार्टीमा थापा, राणा र लोहनी तीन जना नै अध्यक्ष रहने गरी एकताको अवधारणा तयार भएको छ । घोषणा सभा २८ फागुनमा गरिने तय भएको राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् ।

हिजो साँझ लाजिम्पाटस्थित होटल सांग्रिलामा भएको छलफलपछि एकताको निश्र्कषमा पूर्व पञ्चहरुको पार्टी पुगेको हो । एकतापछि पार्टीको नाम राष्टिय प्रजातन्त्र पार्टी नै राख्ने, पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र उपयुक्त निकायबाट टुंगो लगाउने समझदारी भएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह हलो राख्ने की गाई राख्ने भन्नेमा नेताहरुका आ–आफ्नै दाबी छन् । थापा गाई छोडन चाहदैनन भने राणा र लोहनी हलोको पक्षमा छन् ।

यो विवाद एकतापूर्व टुंगो लगाउदा समस्या आउने देखेपछि एकतापछिको ६ महिनामा टुंगो लगाउने समझदारी पूर्व पञ्चहरुको पार्टीले गरेका छन् । शनिवार दिउँसो एकतापछिको पार्टीको मुख्य नीति र सिद्धान्तका विषयमा कुरा मिल्न नसक्दा एकता भाँडिएको चर्चा चलेको थियो । तर नेताहरुलाई कार्यकर्ताको चर्काे दबाब पछि पून नेताहरु साँझ सांग्रिला होटलमा छलफलमा बस्न बाध्य भएका थिए ।

राती सवा १० बजे मात्र उनीहरुले एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । एकीकृत राप्रपाले अब सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र, शत्तिः हस्तान्तरणको सिद्धान्तमा आधारित सुढृढ स्थानिय स्वायक्त शासन, उदार अर्थतन्त्र र असंग्लन्न परराष्ट्र नीति एकीकृत पार्टीको हुने अवधारणा पत्रमा उल्लेख छ ।

हाललाई अन्तरिक विधानको रुपमा राप्रपाको विधानलाई ६ महिनासम्म प्रयोगमा ल्याउने र त्यसपछि विधान कमिटिले विधान प्रस्ताव गर्ने पनि मार्गचित्र पूर्व पञ्चहरुको पार्टीले बनाएको छ । आगामी डेढ वर्षभित्र महाधिवशेन गर्ने र त्यस अवधीसम्म ३ अध्यक्षले संयुक्त नेतृत्व प्रणालीका आधारमा पार्टी सञ्चालन गर्ने पनि समझदारी भएको छ ।

(हेर्नुहोस् अवधारणापत्र सहित)

प्रतिक्रिया दिनुहोस