योनेक्स जर्मन जुनियर ब्याडमिन्टन : प्रिन्स प्रतियोगिताबाट बाहिरिए

शनिबार, २४ फागुन २०७६, १२ : १९
योनेक्स जर्मन जुनियर ब्याडमिन्टन : प्रिन्स प्रतियोगिताबाट बाहिरिए

फाइल फोटो

काठमाडौँ । नेपालका जुनियर ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जर्मनीको बर्लिनमा जारी योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजबाट बाहिरिएका छन् । बर्लिनमा गएराति भएको प्रि–क्वाटरफाइनलमा दाहाल पराजित भएका हुन् । 

पुरुष यु–१९ एकलतर्फ प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ सेटमा पराजित भएका हुन् । पहिलो सेटमा उनले फ्रान्सेली खेलाडी गौडिनलाई २१–१८ अङ्कले हराएका थिए । दोस्रो र तेस्रो सेटमा भने उनले कम ब्याक गर्न सकेनन् । प्रिन्सले दोस्रो सेट १२–२१ अङ्कले तथा तेस्रो सेट पनि १२–२१ अङ्कले नै गुमाएको जर्मनीमै रहेका उनका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए ।  यसयसअघि उनले लगातार तीन खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका थिए । 

प्रिन्सले पहिलो खेलमा जर्मनीका कियन यु ओइलाई २–१ सेटमा तथा दोस्रो खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० ले तथा तेस्रो खेलमा जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमै पराजित गरेका थिए । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् । 

प्रिन्स गत साता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेयका खेलाडीसित पराजित भएका हुन् । विश्व ब्याडमिन्टन सङ्घले गत साता जारी गरेको जुनियरतर्फको विश्व बरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थिए । यो नेपाली ब्याडमिन्टल खेलाडीको हालसम्मकै ठूलो सफलता हो । (रासस)

प्रतिक्रिया दिनुहोस