उत्तर कोरियाविरुद्ध जापान र अमेरिका एकसाथ !

एजेन्सी

शुक्रबार, ०४ फागुन २०७४, ०८ : ५०
उत्तर कोरियाविरुद्ध जापान र अमेरिका एकसाथ !

जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उत्तर कोरियामा अधिकतम दबाब बनाइराख्ने निर्णयमा एकसाथ रहेको जापानी विदेशमन्त्रीले बताएका छन् ।

उत्तर कोरियाले आणविक कार्यक्रमको अन्त्य नगरेसम्म उनीहरुमाथि कडा भन्दा कडा प्रतिबन्ध र दबाब दिइरहनेमा जापानसँग अमेरिका सहमत रहेको मन्त्रीले बताएका हुन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आबे र ट्रम्पले बुधबार फोनवार्ता गर्दै उत्तर कोरियाले हतियार नबिसाएसम्म वार्ता गर्नुको कुनै औचित्य नरहने निर्णयमा पुगेको बताइएको छ ।

केबल देखाउनका लागि मात्र वार्तामा सहभागी हुनुको कुनै अर्थ नभएकाले अन्तिम समयसम्म पनि उनीहरुमाथि कारबाही जारी राख्ने छलफल भएको जापानी विदेश मन्त्रीले जानकारी दिएका हुन् ।

फोनवार्तापछि पत्रकारहरुसमक्ष आबेले बाध्यताका कारण मात्र वार्ता गर्नुले कुनै नतिजा नल्याउने बताएका छन् ।

अर्कोतर्फ दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने अमेरिका र जापान लगायत मुलुकहरुको उत्तर कोरियासँगको राजनीतिक समस्यालाई समाधान गराउनमा जोड दिइरहेका छन् ।

किमकी बहिनीमार्फत मुनले उत्तर कोरिया भ्रमणको निम्तो समेत पाइसकेका छन् जसबाट कोरियाली प्रायद्विपको शान्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

उता अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि अमेरिका उत्तर कोरियासँग छलफल गर्न तयार रहेको तर त्यसका लागि उनीहरुले हतियार निर्माण कार्यमा रोक लगाउनुपर्ने बताइरहेका छन् ।

त्यस्तै जापानले फेरि संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियामा जहाजमार्फत सामग्री आयात भएको पत्ता लगाएकामा चेतावनी दिएको छ ।

पूर्वी चीनको बाटो हुँदै उत्तर कोरियामा जहाजबाट इन्धन आयात भएको जापानी विदेश मन्त्रीले स्थानीय संचार माध्यमलाई खबर गरेका हुन् ।  अन्तर्राष्ट्रिय समुदायले पनि उत्तर कोरियामा अधिकतम दबाब दिन र प्रतिबन्ध लगाउन जापानको साथ दिनुपर्ने उनले बताए । टोकियोले यस घटनाबारे अमेरिकालाई पनि खबर दिइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस