भ्रमण वर्ष २०२० संकटमा : विदेशका सबै प्रचारप्रसार कार्यक्रम रद्द

शनिबार, १७ फागुन २०७६, १५ : ३७
भ्रमण वर्ष २०२० संकटमा : विदेशका सबै प्रचारप्रसार कार्यक्रम रद्द

काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० संकटमा परेको छ । सरकारले यसैलाई लक्षित गरी विदेशमा तय गरेको पर्यटन प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गरेको छ । 

कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काममा सरकार केन्द्रीत भएको बताए । परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडि बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए । 

कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उनले बताए । उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौँ । आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउछौं । जब परिस्थिति अनुकुल हुन्छ । सन्त्रासहरु हट्दै जान्छन् त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमणवर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्छौँ ।’

भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडी बढेपनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो । वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरको संख्यामा कमि आएको थियो । 

नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमानाकाहरुमा सरकारले कडाइ गरेको छ । मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए । 

सरकारले २ हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याएको थियो । उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस