नर्भिकका चिकित्सकको सेवा चितवनमा

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १६ : ५६
नर्भिकका चिकित्सकको सेवा चितवनमा

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । नर्भिक अस्पतालमा कार्यरत दुई जना चिकित्सकले शनिबार भरतपुर आएर बिरामीहरुको स्वास्थ्य परीक्षण गर्ने भएका छन् । 

न्यूरोलोजिष्ट प्रोफेसर डा. राजीव झा र स्त्री, प्रसूति तथा प्रजनन् रोग विशेषज्ञ डा. कुमकुम झाले भरतपुरस्थित चितवन मोडेल अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गर्न लागेका हुन् । चितवन मोडेल अस्पतालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. जगन्नाथ तिवारीले विशिष्ट चिकित्सकको सेवाको लागि राजधानी जानु पर्ने बिरामीको बाध्यता बुझेर जिल्लामै विशिष्ट चिकित्सा सेवाको प्रयास गरिएको बताए । उनले ५१ शैयाको चितवन मोडेल अस्पताललाई न्यूरो अस्पतालको रुपमा विकास गर्ने योजना रहेको सुनाए ।

अस्पतालका बोर्ड अफ डाइरेक्टर केशव देवकोटाले न्यूरो र प्रजनन् सम्बन्धी समस्या भएका बिरामीले अस्पतालमा सम्पर्क राखी विशिष्ट चिकित्सकको सेवा लिन आग्रह गरे । अस्पतालका प्रबन्ध संचालक शम्भु सुवेदीले आगामी दिनमा पनि यस अस्पतालबाट विशेषज्ञ चिकित्सकको सेवा दिइने बताए ।

भरतपुर १०, दूरसञ्चाररोडमा रहेको चितवन मोडेल अस्पतालले स्थापनाको दस वर्ष पार गरिसकेको छ । बिरामीले यस अस्पतालबाट आईसीयू, इमरजेन्सी, ओपीडी लगायतका सेवा पाउँदै आएका छन् । निकट भविष्यमा मुटु, कलेजो, बाथ लगायतका रोग लागेका बिरामीलाई काठमाडौँबाट सिनियर कन्सल्ट्याण्ट चिकित्सक बोलाई सेवा दिइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस