नेकपाभित्र विवाद

को बन्ला राष्ट्रिय सभा सदस्य ? गौतम कि खतिवडा ?

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, १८ : ०५
को बन्ला राष्ट्रिय सभा सदस्य ? गौतम कि खतिवडा ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बिहान बसेको सचिवालय बैठकले फागुन २० गते कार्यकाल सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई हटाएर उक्त स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेपछि नेकपाभित्र विवाद चुलिएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ आफ्नो नारालाई स्थापित गर्न सहयोग गरेका अर्थमन्त्री खतिवडालाई हटाउने पक्षमा छैनन्, तर सचिवालयको बहुमतको निर्णयले गौतमलाई उक्त स्थानमा लैजाने भएपछि ओली असन्तुष्ट बनेको चर्चा चल्न थालेको छ ।

स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ‘बामदेवलाई राष्ट्रियसभामा लैजाने तर संविधान संशोधनलाई शर्त नबनाउने’ उपाय सुझाउँदै कार्यदललाई के गर्ने निर्णय गर्न माग गरे ।

त्यसपछि झलनाथ खनाल लगायत अरु नेताले पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्नेमा जोड दिए । त्यसपछि गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताउँदै कार्यदललाई यताउता गरेपनि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको भन्दै गौतमले नेतृत्वलाई सोधे, ‘सँधै मेरो विरुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल बन्द गर्नुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सहमतिमा नै गौतमको नाम चयन भएको बताएका छन्। ‘सचिवालय बैठकको सहमतिमा नै बामदेवजीको नाम चयन भएको हो, त्यसलाई सबैले मान्नैपर्छ,’ श्रेष्ठले नेपालन्युजसँग भने, ‘निर्णयमा असहमति भए सचिवालय बैठकबाट सच्याउन सकिन्छ, तर मान्दिन भन्न पाइन्न।’

बुधबारको सचिवालय बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल भंग गरेको छ । योसँगै राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र राष्ट्रिपतिलाई थप अधिकार दिने गरी संविधान संशोधन गर्ने नेकपाको तयारी तत्कालका लागि रोकिएको छ ।

स्रोतकाअनुसार सचिवालय बैठकको अन्त्यमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली बोलेका थिए । उनले पार्टीभित्रबाटै आफूविरुद्ध खेल भएको भन्दै सम्पूर्ण परिस्थितिको सामना गर्ने बताए ।

उपाध्यक्ष गौतमलाई पहिले राष्ट्रियसभामा लैजान खोज्दा संविधान संशोधनलाई शर्त बनाएको तर अहिले शर्त छाडेर पनि राष्ट्रियसभामा जान तयार भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले यत्ति भन्नै पर्ने भयो, यो सब मेराविरुद्ध खेल हो, यसको सामना गर्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस