के हो कोलेस्ट्रोल ? कसरी बच्ने ? के खाने ?

एजेन्सी

बुधबार, १४ फागुन २०७६, १२ : ४१
के हो कोलेस्ट्रोल ? कसरी बच्ने ? के खाने ?

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा हुने बोसोयुक्त मोलिक्युल हो । यसको अभावमा हामी जीवित रहनै सक्दैनौं । हाम्रो शरीरले कोलेस्ट्रोललाई एउटा गद्दाको रुपमा उपयोग गरिरहेको हुन्छ । यसले हाम्रो कोषका बाहिरी पत्रलाई ढाक्नुका साथै स्नायु फाइबरहरुको तापक्रमलाई स्थीर राख्नका लागि जोगाउने काम तथा मस्तिष्कबाट सही ढंगले सूचनाहरुका आउने जाने काममा सहयोग पनि गरिरहेको हुन्छ । कोलेस्ट्रोल हाम्रो इन्डोक्राइन प्रणालीको आधारभूत हिस्सा पनि हो । एस्ट्रोजीन  लगायत सबै स्टेरोइडड हर्मोनहरु उत्पादन हुने काम कोलेस्ट्रोलकै सहयोगबाट भइरहेको हुन्छ ।

सामान्यतः हामीलाई के लाग्न सक्छ भने कोलेस्ट्रोल भनेको रगतमा हुने बोसोजस्तो चीज हो, जसको शरीरमा कुनै काम नै छैन । तर वास्तवमा हाम्रो शरीरका हरेक कोषहरुमा कोलेस्ट्रोल हुन्छन् । हाम्रो मस्तिष्क, छाल र अन्य अंगहरुलाई आफ्नो काम गर्नको लागि कोलेस्ट्रोल नभई हुन्न । तर यसको अर्थ यो होइन कि शरीरमा जति कोलेस्ट्रोल भए पनि केही हुन्न ।

रगतमा कोलेस्ट्रोलको मात्रा बढ्दै जाँदा त्यो रक्तनलीका भित्ताहरुमा टाँसिन जान्छ । यसले गर्दा रक्तनलीहरु कडा तथा साँघुरो हुन जान्छ । त्यो जम्दै जाँदा रगत जाने बाटो साँघुरो हुने मात्रै हैन, थुनिने पनि हुन्छ जसले गर्दा हृदयघात तथा मस्तिष्कघात हुने खतरा बढेर जान्छ ।

हाम्रो शरीरको लागि आवश्यक कोलेस्ट्रोल कलेजोले बनाइरहेको हुन्छ । त्यसबाहेक हामी हामीले खाएका खानेकुराहरुबाट पनि कोलेस्ट्रोल प्राप्त गर्न सक्छौं । मासु, माछा, अण्डा, नौनी, चीज र दुधहरु कोलेस्ट्रोलका स्रोतहरु हुन् । फलफूल, सागपात, गेडागुडीहरुमा सामान्यतः कोलेस्ट्रोल हुँदैन ।

कोलेस्ट्रोल घटाउने केही खानेकुरा

माछा : माछा खानेहरुका लागि खुसीको कुरा हुन सक्छ, चिल्लो बढी भएका माछाहरुमा पाइने ओमेगा ३ ले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घटाउन तथा स्वस्थकर कोलेस्ट्रोलको मात्रा बढाउनमा सहयोग पुर्याउँछ । ओमेगा ३ ले अनियमित चालबाट मुटुलाई बचाउने काम गर्छ भने त्यसले रगतमा भएका ट्रिग्लिसेरिड्सहरुलाई पनि घटाइदिन्छ ।

भण्टा : कोलेस्ट्रोलका समस्या हुनेहरुका लागि भने बैगुन अत्यन्तै लाभदायी हुने गर्छ । बैगुनले शरीरमा कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।

भटमास : कोलेस्ट्रोलको समस्या हुनेहरुले खानैपर्ने अर्को खानेकुरा भटमास पनि हो । भटमासले एलडीएल अर्था्त लोअर डेन्सिटी लिपोप्रोटिन भनिने खराब कोलेस्ट्रोललाई घटाउने काम गर्छ ।

भटामासलाई हामी विभिन्न माध्यमबाट खान सक्छौं । सोझै भुटेर भटमास खानु जाडो महिनामा काइदा हुन्छ भने टोफु, पनिर बनाएर वा भटमासको दुध बनाएर पनि खान सकिन्छ । दिनको २५ ग्राम भटमासको दुध वा तोफु खाने हो भने पनि खराब कोलेस्ट्रोल हुनेहरुलाई निक्कै फाइदा पुग्छ ।

स्याउ : कोलेस्ट्रोलको समस्या हुनेहरुका लागि चाहिँ स्याउको सेवनले निक्कै फाइदा पुग्न सक्छ । विशेष गरेर स्याउमा पाइने पेक्टिन भन्ने घुलनशील फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ ।

ओखर र बदाम : ओखर तथा बदामका फाइदाहरु मनग्गे छन् । तीमध्ये पनि झट्ट हेर्दा मस्तिष्कको प्रतिरुप जस्तो देखिने, ओमेगा ३ लगायत शरीरका लागि बहुउपयोगी तत्वहरुले भरिपूर्ण ओखर अनि बदामहरुको सेवन खराब कोलेस्ट्रोल घटाउनका लागि सहयोगी सिद्ध हुन सक्छ । त्यसबाहेक, ओखर बदाम, काजु, पिस्ताहरुको सेवनले मुटु स्वस्थ राख्न पनि सहयोग गर्छ ।

एभोकाडो : फलहरुको नाम लिँदा फाइदाका हिसाबले अग्रपंक्तिमा नाम आउने फल हो एभाकाडो । यसका फाइदाकै कुरा गर्दा एभाकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल प्रभावकारी ढंगले नियन्त्रण हुने गर्छ ।

हामीले थाहा पाएकै कुरा हो, केरामा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । तर हामीमध्ये कतिपयलाई थाहा नहुन पनि सक्छ, एभाकाडोमा केरामा भन्दा पनि बढी पोटासियम पाइन्छ । सम्भवतः यो कुरा बताइबस्नु जरुरी छैन, पोटासियमले मुटु स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । 

सूर्यमुखीको तेल : शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन वा घटाउनको लागि सूर्यमुखीको तेल, जैतुनको तेलहरु राम्रो विकल्प हुन सक्छ । तेल वा चिल्लो खाद्यको कुरा गर्दा ख्याल गर्नैपर्ने कुरा के हो भने त्यो जम्ने खालको हुनुहुँदैन ।

चिया : दूध हालेको भन्दा पनि फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउनको लागि फाइदाजनक मानिन्छ ।

ठिक्क मात्रामा फिक्का वा हरियो चियाको सेवनले रक्तचापलाई सही राख्छ, शरीरमा हुने इन्फ्लेमेशनलाई घटाउँछ र मुटुसम्बन्धी समस्याहरुबाट पनि हामीलाई बचाउन सहयोगी भूमिका खेल्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस