प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

विहीबार, ०३ फागुन २०७४, १७ : १४
प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

काठमाडौँ । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ ।

नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जनसम्पर्क महाशाखा प्रमुख महासेनानी विजय थापाले भलिबल प्रतियोगिता लिग कम आउटका आधारमा सञ्चालन हुने जानकारी दिनुभयो ।

विसं २०७२ देखि शुरु भएको सो प्रतियोगिताको प्रथम र द्वितीय संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लबका टोलीले प्रथम भई वर्चश्व कायम गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, द्वितीय हुनेले रु एक लाख ५० हजार तथा तृतीय हुनेले रु ७५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर तथा प्रशिक्षकले रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पत्रकार सम्मेलनमा महासेनानी थापाले भन्नुभयो, “भलिबल प्रतियोगिताले नेपाली भलिबल खेलको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।”(रासस)

प्रतिक्रिया दिनुहोस