'झ्यालबाट संसद् छिर्ने हठमा वामदेव गौतम'

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०८ : २२
'झ्यालबाट संसद् छिर्ने हठमा वामदेव गौतम'

काठमाडौं । संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्वीकार गरेपछि वामदेवको सपना फेरि भुमरीमा परेको छ ।  नेम्वाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्न माधव नेपाललाई पनि सुझाब दिए ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ ।  

शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्था पनि परिवर्तन गर्न नेकपाले कार्यदल बनाएको थियो । 

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाए पनि यो विषय गोप्य राख्ने निर्णय पार्टीले गरेको थियो । सोमबार नेता नेपालले कार्यदलको पहिलो बैठक बस्न नेम्वाङ र देवकोटालाई आफ्नो निवास कोटेश्वर बोलाएका थिए ।

तर, नेम्वाङले कार्यदलमा बस्न ठाडै अस्वीकार गरे । स्रोतका अनुसार उनले एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने विषय अनुचित भएको भन्दै आफू त्यसमा सहभागी नहुने स्पष्ट पारे । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस