“उज्यालोका मालीहरू” सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ११ फागुन २०७६, १२ : ००
“उज्यालोका मालीहरू” सार्वजनिक

काठमाडौँ । एघार जना युवा कविका एक सय १० वटा कविताको सङ्ग्रह “उज्यालोका मालीहरू” शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उज्यालोका मालीहरु कृति सार्वजनिक गरिएको हो । 

मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, आरआर क्याम्पसकी प्राध्यापक तथा समालोचक डा. गीता त्रिपाठी, समालोचक राजकुमार बानियाँ, एनआरएनए उपाध्यक्ष तथा पूर्ववास उपन्यासका लेखक सर्वाज्ञ वाग्ले, प्रकाशक पुष्पराज पौडेल र “उज्यालोका मालीहरू” का सम्पादक महेश पौड्यालले संयुक्त रुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै साहित्यकार निहारिकाले भनिन्, “युवाको अनुहारमा हाम्रो अनुहार छापिएको हुन्छ । हाम्रो अनुहार अँध्यारो–उज्यालो कस्तो छ भन्ने कुरा युवाको अनुहार हेर्दा थाहा हुन्छ । मैले “उज्यालाका मालीहरू”मा हाम्रो उज्यालो अनुहारको रुपरेखा देखेँ ।”

डा. गीता त्रिपाठीले कविता संग्रहका कविताहरूलाई समय दिएर तथा हृदयबोधका साथ पढ्नुपर्ने बताइन् । उनले भनिन्, “यदि हामीले यस कविता संग्रहका कविताहरूलाई केटाकेटीका कविता सम्झेर पढ्यौँ पनि त्यो हाम्रो भूल हुनेछ । यी साना आकारका कविताहरूले विशाल आयतनको संवेदनालाई प्रसारित गरेका छन् ।

समालोचक राजकुमार बानियाँले उज्यालोका मालीहरुमा संग्रहित कविताका सर्जक कविहरु नयाँ मानक सिर्जना गर्ने बाटोमा अग्रसर रहेको जिकिर गरे । “मैले यस कवितामा संग्रहित कवितामा भिन्न स्वाद भेटेको छु । कविताहरू संग्रहको नामझैँ उज्याला छन् । यसले हामीले लामो समयदेखि पछ्याउँदै आएको कवितासम्बन्धी मान्यतालाई भत्काइदिएको छ ।” 

सर्वाज्ञ वाग्लेले अहिले साहित्यमा उदाएका युवा पुस्ताबाट आफूले मदन पुरस्कारमात्र नभएर नोबेल पुरस्कारको आशा गरेको बताए । सङ्ग्रहमा छोटा आकारका तर ओज र घनत्व बोकेका सूक्तिमय कविता समाविष्ट गरिएको सम्पादक पौड्याल बताए ।

साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदिप योङहाङ लिम्बू, सुन्सरीकी दिपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चितवनका शरद ऋतु, काभ्रेका अदिप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता छन् । 

कार्यक्रमको संचालन कवि तथा समालोचक महेश क्षितिजले गरेका थिए भने स्वागत मन्तव्य कवि निरज दाहालको रहेको थियो । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस