छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा

शनिबार, १० फागुन २०७६, ११ : ३०
छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा

लहान । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा शुरु गरिएको छ । 

‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ ।  त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ । 

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका  लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिनुभयो । 

सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा  शुरु गरिएको उहाँले जानकारी दिनुभयोे ।  सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ ।      (रासस)

प्रतिक्रिया दिनुहोस