पप्पु कन्स्ट्रक्सन प्रालि सहित अन्य ६ वटा निर्माण कम्पनी कालोसुचीमा

सोमबार, ०५ फागुन २०७६, १२ : १७
पप्पु कन्स्ट्रक्सन प्रालि सहित अन्य ६ वटा निर्माण कम्पनी कालोसुचीमा

काठमाडौँ । ठेक्का लिने तर समयमा काम नसक्ने भनेर निकै विवादित बनेको पप्पु कन्स्ट्रक्सन प्रालि सहित विभिन्न ६ वटा निर्माण तथा आपुर्तीकर्ता कम्पनीलाई सरकारले कालो सुचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ६ वटा त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको उक्त कार्यालयले विभिन्न सार्वजनिक निकायबाट भएको सिफारिस अनुरुप फागुन ४ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएअनुसार सार्वजनिक गरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई निश्चित अवधिसम्म कालोसूचीमा राखिएको हो । सो कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालि, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र एचबी केसी निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।

सुमित रौनियार मुख्य व्यक्ति रहेको पप्पु कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । यस्तै, अशोक न्यासुर मुख्य व्यक्ति रहेको हेटौँडास्थित निशा सप्लायर्सलाई दि टिम्बर कर्पोरेशन अफ नेपाल (नेपाल वन निगम लि, शाखा कार्यालय बारा)को सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखेको छ । मुख्य व्यक्ति दामोदर दुलाल रहेको श्रीदेव सप्लायर्सलाई प्रहरी प्रधान कार्यालय, मानवस्रोत तथा प्रशासन विभाग, प्रवन्ध निर्देशनालय नक्सालको सिफारिसमा एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

 दोलखाको मेलुङ गाउँपालिकाको कार्यालयले गरेको सिफारिसका आधारमा मुख्य व्यक्ति विष्णुकुमार कडरिय रहेको सुर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।  सोही  गाउँपालिकाको क सिफारिसमा बारा कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको सिफारिसमा मुख्य व्यक्ति हरिबहादुर खत्री रहेको एचबी केसी निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।कालोसूचीमा रहेका उल्लेखित कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस