प्रधानमन्त्री ओलीलाई किन लाग्यो अविश्वासको डर ?

सरकार ढाल्ने षडयन्त्र भईरहेको प्रधानमन्त्रीको दाबी

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०७६, ०९ : ०९
प्रधानमन्त्री ओलीलाई किन लाग्यो अविश्वासको डर ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली संसदमा झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका छन् । उनको पार्टी नेकपा एक्लैको संसदमा १७४ (कृष्णवहादुर महरा निलम्बित अवस्थाका सहित) सांसद छन् । उनको सरकारलाई प्रतिपक्ष काँग्रेसले हलचल गर्न सक्ने अवस्था छैन् ।

सरकार हलचल गर्न उनको पार्टी नेकपाले कुनै अर्काे कदम नचालेसम्म सरकार हेरफेर गर्न अन्यले चाहेमा सम्भव नै छैन । उनको पार्टी नेकपाभित्र ४ मंसिरमा मात्रै दुई अध्यक्षका बीच कार्यविभाजन हुँदा ओलीले सरकार र प्रचण्डले पार्टी हाँक्ने समझदारी समेत बनिसकेको छ ।

प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नभएको प्रतिक्रिया बारम्बार दिईरहेका छन् । तर प्रधानमन्त्री ओलीले संसदमा रहेको आफ्नै पार्टीको बहुमतको यस्तो अंकगणितका बीच पनि सरकार ढाल्ने षडयन्त्र शुरु भएको बताउन थाले भन्ने प्रश्न अहिले सर्वत्र चर्चा हुन थालेको छ ।

ओलीले हिजो आइतबार गृहजिल्ला झापा पुगेर आफु नेतृत्वको सरकार ढाल्ने षडयन्त्र शुरु भईसकेको बताएका थिए । कुनै पनि प्रधानमन्त्रीका विरुद्ध २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाउने सम्वैधानिक ब्यवस्था छ । ३ फागुनमा ओलीले सरकारको मोर्चा सम्हालेको दुई वर्ष पुगेको छ । सरकार गठन भएको दुई वर्ष पूरा भए लगत्तै ओलीबाट किन सरकार ढाल्ने षडयन्त्रको शुरुवात भएको भन्ने अभिब्यक्ती सार्वजनिक भयो ? अहिले यसका बारेमा राजनीतिक क्षेत्रमा टिकाटिप्पणी शुरु भएको छ । 

के नेकपा आफैले ओलीका विरुद्ध अविस्वासको प्रस्ताव ल्याउने षडयन्त्र हुदैछ ? ओलीले दुई तिहाई बहुमतको सरकार सञ्चालन गरिरहदा पनि प्रभावकारी का मभने गर्न सकेका छैनन् । सरकारको काम देखि आम मानिस मात्र होइन, स्यवं उनकै पार्टीका नेताहरु समेत सन्तुष्ट हुन सकिरहेका छैनन् ।

पार्टी भित्र पनि सचिवालय, स्थायी समिति देखि केन्द्रीय समिति सबैतिर अहिले ओली अल्पमतमा छन् ।  पहिलो पटक पार्टीका संरचनामा अल्पमतमा परेका, आफुले चाहेको निर्णय लिन ओली सफल नदेखिएका कारण पनि उनले आफु नेतृत्वको सरकार ढाल्ने षडयन्त्र शुरु भएको ठानेका हुन सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

‘उहाँ (प्रधानमन्त्री)लाई डर आफ्नै पार्टीभित्र हो, बाहिर डरभर छैन,’ एक राजनीतिक विश्लेषक भन्छन्,–‘उनले चाहेको एमसिसि सजिल्यै जस्ताको तस्तै सदनवाट पारित गराउन उनकै पार्टीका कारण सम्भव नदेखिरहेको, सरकारको काम प्रभावकारी नदेखिएको पार्टीभित्रै आवाज उठिरहेको र स्यवं ओलीको स्वास्थ्य अवस्थाका कारण पनि पार्टीभित्र प्रधानमन्त्रीमाथी प्रश्न उठ्न सक्ने ठानी उहाँले सरकार ढाल्ने षडयन्त्र तिर संकेत गर्नुभएको हुनसक्छ ।’ 

ओलीले झापाको दमकमा आयोजित सभामा भनेका थिए, –‘५० वर्षअघि यहीँ जिल्लामा ज्यान हत्केलामा राखेर निरंकुश शासकविरुद्ध लडाइँ सुरु गरेको हुँ, २० वर्ष पञ्चायत विरुद्ध लडें । १४ वर्ष जेल जीवन बिताए । ६ वर्ष भूमिगत हुनुप¥यो । १८ वर्ष राजतन्त्रविरुद्ध लड्नुप¥यो । अहिले पनि लडिरहेको छु । ४६ वर्षदेखि रोगसँग लडिरहेको छु । त्यसैले मलाई रोग, जनविरोधी, प्रतिक्रियावादीहरूसँग लड्न डर लाग्दैन ।’

आफू बिरामी भएपनि अझै केही वर्ष बाच्ने र आफनो मृत्यु पर्खेर नबस्न ओलीले आफ्नै पार्टी नेताहरुप्रति इंगित समेत गरेका थिए । ‘मलाई केही गर्दा रोक्न नसक्नेहरू मेरो मृत्यु पर्खेर बसेका होलान् । तर, म अझै केही वर्ष बाँच्छुं, देशमा भ्रष्टाचार रोक्न र भ्रष्टाचार गर्न नदिन म बाँचिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस