सहिद स्मारक ए डिभिजन : मछिन्द्र क्लबले जित्यो उपाधि

शनिबार, ०३ फागुन २०७६, १६ : ०२
सहिद स्मारक ए डिभिजन : मछिन्द्र क्लबले जित्यो उपाधि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३ औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो । २० औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२ औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।

३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ । गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यश सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो । मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोड्यो । मछिन्द्रले यश सिजन हिमालयन शेर्पा क्लबसंग मात्र हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस