किन दिल्ली दौडिए मधेश केन्द्रीत दल राजपाका शिर्ष नेताहरु ?

किन र कुन उद्देश्यले उनीहरु भारतको यात्रामा निस्किएका हुन्

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०७६, १० : २९
किन दिल्ली दौडिए मधेश केन्द्रीत दल राजपाका शिर्ष नेताहरु ?

काठमाडौँ । सत्तासिन हुन आतुर मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी (राजपा) का शिर्ष नेताहरु यतिबेला भारत भ्रमणमा व्यस्त छन् । एक पछि अर्को गर्दै नेताहरु भारत तर्फ लाग्न थालेपछि  विभिन्न आशंका गर्न थालिएको छ । आखिर किन उनीहरु भारत तर्फ लागेका हुन् ।

नेपाल भित्रै भारतीय स्वार्थमा राजनीति गरिरहेको आरोप लाग्दै आएका मधेश केन्द्रित दलहरु त्यसमा पनि एक दल सरकारबाट बाहिरिनु र अर्को दल सत्तासिन हुन कम्मर कसेर लाग्दै गरेको अवस्थामा राजपाका नेताहरु किन दिल्ली हानिएका हुन ? यो प्रश्नको उत्तर स्यवं राजपाका कार्यकता समक्ष पनि छैन् । शिर्ष नेतृत्व तहका नेताहरुले नै यसको सार्वजनिक उत्तर नदिएपछि अहिले विभिन्न आशंका गर्न थालिएको छ । 

किन र कुन उद्देश्यले उनीहरु भारतको यात्रामा निस्किएका हुन् भन्ने बारेमा सार्वजनिक रुपमा केही बताइएको छैन । राजनीतिक जानकारहरु भन्छन् – प्रभुको आशीर्वाद थाप्न उनीहरु दिल्ली यात्रामा निस्केका हुन् । प्रभुको आशीर्वाद लिएर सरकारमा जाने वा तराई मधेशमा पुनः आन्दोलन भन्दै अर्को वितण्डा मच्चाउने भन्ने योजना तय गर्नका लागि उनीहरु दिल्ली पुगेका हुन् । उनीहरुको यात्राका बारेमा स्वयम् मधेशवादी भनिएका दल भित्रै नै आशंकाको बादल मडारिएको छ ।

संघीय सरकारमा आउन आतुर राजपाका तीन अध्यक्ष नै दिल्लीयात्रामा जानुले पनि आशंकामा बल मिलेको हो । श्रोतका अनुसार प्रदेश नं २ को सरकार चरम भ्रष्टाचारमा रमाएको र राज्यको साधन र स्रोतको चरम दुरुपयोग गरेको तथ्यहरु सार्वजनिक भइरहेको छ । जे जसरी भएपनि सरकारी स्रोत लुट र चरम दुरुपयोग गर भन्ने मान्यताका साथ सरकार अगाडि बढेको स्वयम् सो सरकारी एक मन्त्री डिम्पलकुमारी झाले तथ्य सार्वजनिक गर्दै राज्यमन्त्री पदबाट राजीनामा नै दिएकी थिइन् ।

उनले प्रदेश नं २ को सरकार चरम भ्रष्टाचारमा गन्हाएको भन्दै पापको भारी बोक्न नसक्ने भन्दै बाहिरिएकी थिईन् । संघीय सरकारमा पनि सहभागी हुने र प्रदेश नं २ को सरकार पनि परिवर्तन हुने चर्चा चलीरहेको छ । सत्तारुढ नेकपाले पनि सरकारमा सहभागी हुने भए प्रदेश नं २ को सरकार बदल्नुपर्ने तथा दीर्घकालीन सहमतिमा आउन राजपालाई सन्देश दिएको छ । सोही सन्देशका आधारमा राजपाका नेता शक्तिकेन्द्रको आशिर्वाद थाप्न दिल्ली पुगेको बताइन्छ । 
राष्ट्रियसभाको निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राजपाले अहिले उपसभामुख पद माग गरेको छ । नेकपालाई सो पद राजपालाई दिन कुनै कन्जुस्याई पनि छैन ।

संवैधानिक व्यवस्था अनुसार एउटै दलका वा एउटै लिंगको सभामुख वा उपसभामुख हुन नपाउने व्यवस्था छ । सोही व्यवस्थाले पनि राजपालाई उपसभामुख दिन कुनै जटिलता नरहेको नेकपाको भनाइ छ । नेकपाको सोही कुरा थाहा पाएको राजपाले पनि संघीय सरकारमा सहभागी हुने र प्रदेश नं २ को सरकार समेत बदल्न तयार देखिएको छ । सोही तथ्य र पृष्ठभूमि बुझेको राजपाका नेता दिल्लीको सन्देश लिन भन्दै उतातिर लागेको श्रोतको भनाई छ ।

राजपाका अनुसार अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी भाञ्जाको बिहे भन्दै गत माघ २१ गते नयाँ दिल्ली पुगेका थिए । उनले सो अवसरमा केही भारतीय खुफिया एजेन्सीका मान्छेसँग भेटवार्ता गरेका थिए । यस्तै केही दिन पहिले श्रीमतीको उपचार गराउने भन्दै राजेन्द्र महतो पनि नयाँ दिल्ली पुगेका थिए । उनले उपचारको बाहाना गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको बताइन्छ । 

भण्डारी र महत्तो नयाँदिल्लीमै रहेको बेला ‘इन्डिया–नेपाल ब्रिलियन्ट डायलग’मा सहभागी हुन गत मंगलबार अर्का अध्यक्ष राजकिशोर यादव दिल्ली पुगेका छन । उनीहरुको दिल्ली दौडलाई लिएर देशभित्र विभिन्न प्रकारका आशंका पैदा भएको छ । केहीले यसलाई प्रदेश नं २ को सरकार हेरफेर तथा राजपाको संघीय सरकार प्रवेशलाई लिएर पनि तर्क गरेका छन् । नेकपाले पनि राजपाका नेताको दिल्ली दौडलाई मसिनो तरिकाले अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस