प्रदेशको नाम किरात राख्न ‘ढोल र झ्याम्टा’

पत्रपत्रिकाबाट

शनिबार, ०३ फागुन २०७६, ०७ : ४९

खोटाङ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरेका छन्। दिक्तेल महोत्सव उद्घाटनका क्रममा खोटाङ आइपुगेका मुख्यमन्त्री शेरधन राईलाई शुक्रबार ज्ञापन–पत्र बुझाउँदै जनजाति महासंघले प्रदेशको नामाकरण किरात गर्नका लागि ध्यानाकर्षण गराएका हुन्।

प्रदेशको नामाकरणको विषय लामो समयसम्म अनिर्णित भएको अवस्थामा जनजाति महासंघले ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानको आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम बिकल्प हुने आधार ज्ञापन–पत्रमा प्रस्तुत गरेको छ। किरात शब्द जातीय नभएर मानव सभ्याता एवं प्राचिन इतिहास र भूगोल भएकाले प्रदेशको नाम किरात राख्नु सबैका लागि सर्वस्वीकार्य हुने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष हात्तीराम राईले बताए।

प्राग नेपालको इतिहास, सभ्यता, संस्कृति, पहिचान र भूगोल लगायत हिन्दु धर्म दर्शन, वेद, पुरान, महाभारत, शिवपुरान, स्वस्थानी कथा लगायतमा समेत किरात उल्लेख भएका कारण प्रदेशको नामाकरणमा किरातलाई जातसँग नजोड्न जनजाति महासंघले आग्रह गरेको छ। खोला, नाला, वन, जंगल, हिमाल लगायतका नाम राख्दा मानव इतिहास र सभ्यता हराउने भएकाले, विविधतायुक्त मानव सभ्यता, संस्कृति र इतिहासलाई सम्बोधन गर्दा भावनात्मक एकताको सुत्रमा बाध्ने र राष्ट्रियतालाई बलियो बनाउने भएकाले प्रदेशको नाम किरात राख्न उपयुक्त हुने ज्ञापन–पत्रमा उल्लेख छ।

‘हाल प्रदेशको नामाकरणका क्रममा नेपालको वास्तविक पहिचान, भूगोल, संस्कृति, सभ्यता र इतिहासलाई मास्ने, बिगार्ने र क्रम भंग गर्ने खालको कामहरु भइरहेको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘संघीयता कुनै नदी, पहाडले मागेको होइन, समग्र नेपालको इतिहास, सभ्यता, संस्कृति र नेपालको भू–भागमा बसोबास गर्ने निश्चित समुदायको पहिचान जनित भूगोलको आधारमा हुनु पर्छ।’

किरात शब्दले राई जातीलाई मात्र नभएर हिमाल, पहाड र तराईका सबै आदिबासी जनजाती र खस आर्य समुदायलाई समेट्ने भएकाले ऐतिहासिक, साँस्कृतिक, भौगोलिक बिशेषताका आधारमा प्रदेशको नाम किरात राख्न उपयुक्त हुने, हजारौं वर्ष पहिले पूर्वी नेपालको भू–भागमा भष्मे खोरिया फाँडेर मानव सभ्यताको सुरुवात गरेका किरात समुदायले आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यतालाई हालसम्म निरन्तरता दिइरहेकाले, विभिन्न पार्टीहरुले उठाउँदै आएको बहुपहिचान तथा ‘पहिचान भेटिने र द्धन्द्ध मेटिने’ नारालाई सार्थक बनाउन सबैको साझा र सर्वस्वीकार्य नाम हुने भएकाले किरात राई यायोक्खाले समेत प्रदेशको नाम किरात राख्न माग गर्दै आएको छ। नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस