हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन

बुधबार, २९ माघ २०७६, १८ : १२
हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन

काठमाडौँ । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । गौतम अध्यक्ष भएसँगै विगत १६ वर्षदेखि लगातार अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ नेतृत्वबाट बाहिरिएका छन् ।

बैंकको बुधबार सम्पन्न साधारणसभाबाट कर्मचारी सञ्चय कोषका प्रशासक गौतम अध्यक्षमा चयन भएका हुन् । 

बैंकको संचालक समितिमा गौतमसहित प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका छन् । सुनील थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । ती मध्यबाट  गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैबीच साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंकले जनाएको छ । 

सर्वसाधारण बाहेक हाल हिमालयन बैंकमा हबिब बैंक पाकिस्तान(२० प्रतिशत), कर्मचारी सञ्चयकोष(१४ प्रतिशत), मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी(१२.७१ प्रतिशत), खेतान समूहको म्युचुअल ट्रेडिङ(११.८५ प्रतिशत) तथा राणा समूहको आभा इन्टरनेशनल(११.३८ प्रतिशत) बैंकमा सेयर छ । मनोजबहादुर श्रेष्ठका भाइको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ ।