आईजीपी ज्ञवालीले भने– प्रहरीको भेषमा अवाञ्छित क्रियाकलाप गर्दिन

बुधबार, २९ माघ २०७६, १४ : ४३
आईजीपी ज्ञवालीले भने– प्रहरीको भेषमा अवाञ्छित क्रियाकलाप गर्दिन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीको भेषमा अवाञ्छित क्रियाकलाप नगर्ने प्रतिबद्धता गरेका छन् ।  

ज्ञवालीलाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव महेश्वर न्यौपानेले पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहणपछि ज्ञवालीले व्यावसायिक निष्ठाका साथ राष्ट्र सेवामा दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै भने, ‘अवाञ्छित, ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गर्न लाग्नेछु ।’ 

उनले नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हकअधिकारको संरक्षण गर्न दृढ संकल्पित रहेको बताए । ज्ञवालीले कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताए । नेपाल प्रहरी जस्तोसुकै चुनौतिमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्य पथमा समर्पित रहने उनको भनाइ थियो ।  

उनले प्रहरीको भेषमा कुने अवाञ्छित लाभ नलिने प्रतिबद्धता समेत जनाए । उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।  

प्रहरी सेवामा  योगदान
विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । विसं २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तालिम प्राप्त गरेका छन् ।

प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित भएका थिए । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौँ नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्राप्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस