जनप्रतिनिधिलगायतको लगानी : बीपी राजमार्ग रोकेर क्रसर उद्योग

पत्रपत्रिकाबाट

बुधबार, २९ माघ २०७६, ०८ : ५५
जनप्रतिनिधिलगायतको लगानी : बीपी राजमार्ग रोकेर क्रसर उद्योग

काभ्रे। बिपी राजमार्गको रोशी गाउँपालिका– ८ डिप्सामा रहेको नाङशाल क्रसर उद्योगले सडकमै रोडा थुपारेर व्यापार गरेको छ भने सवारी साधनलाई घुमेर यात्रा गर्न बाध्य पारेको छ।

‘राजमार्ग नै अवरुद्ध गरेर डाईभर्सन गरेको विषयमा क्रसर सञ्चालकहरूलाई कारवाहीको चेतावनीसहित स्पष्टीकरण सोधिएको छ’–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले भन्नुभयो– कसैले पनि सडक अतिक्रमण गरी अनधिकृत रुपमा प्रयोग गर्न पाउँदैन।

‘नाङशाल ढुंगा रोडा उद्योगले माघ ११ गते सडक डाईभर्सन गरेको सूचनाका आधारमा माघ १९ गते पत्र काटिएको छ’ भाटले अध्ययनपछि कारवाही प्रक्रिया अघि बढाइने बताउनुभयो।

क्रसरमा प्रयोग भएका मेशिनहरूको थर्काई कारण हिउँदमा समेत सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको हो। माघ २६ गते राति पहिरो जानुअघि माघ ११ गते रोशी खोलामा क्रसर वैकल्पिक सडक निर्माण गरिएको थियो। २०७६ असार २६ गतेदेखि परेको अविरल वर्षातका कारण पहिरो गई डस्ट बगाउँदा राजमार्ग अवरुद्ध भएको हो।

पूर्व सांसदहरू तीर्थ लामा र शंकर भण्डारी सहितको लगानीमा सञ्चालनमा रहेको क्रसर उद्योगको विरोधमा उत्रिन थानीय जनता डराएको एक गाउँलेले बताए। भण्डारीले नै उद्घाटन गरेको यस क्रसर उद्योगमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं पूर्व सांसद तीर्थ लामाको २२ प्रतिशत, ग्राण्डी अस्पतालका सञ्चालक दीपक कुँवरको ६३ प्रतिशत, तीर्थ लामाका भाइ नानिबाबु लामा र नेकपा नेता सुजन लामाको दुई–दुई प्रतिशत, भीम लामाको पाँच प्रतिशत, सेराप लामाको एक प्रतिशत, वाङचु लामाको चार प्रतिशत शेयर छ।

बाँकी प्रतिशतको अंशियार नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री शंकर भण्डारी रहेको बताइएको छ। २०६४ माघदेखि शुरु भएको क्रसरले पटक–पटक सडकमा अवरोध पुर्याएको भन्दै कारवाहीका लागि पत्र काटिएको थियो।

तत्कालीन प्रहरी प्रमुख एसपी पूजा सिंहले २०७२ सालमै उक्त उद्योगमा सञ्चालन भइरहेको स्काभेटरको चाबी थुतेर कारवाही प्रक्रिया अघि बढाउनु भएको थियो। राजनीतिक दबाबका कारण कारवाही नभई निरन्तर सञ्चालन भएको छ।

उता, उद्योग सञ्चालक वाङचु लामाले उद्योगका कारण पहिरो नगएको दावी गर्दै उक्त जग्गा व्यक्तिका नाममा रहेको बताउनुभयो। क्रसरसँगै जोडिएको कुवेरसिं लामाको नाममा रहेको जग्गा सञ्चालक सेराप लामाको बाबुको हो।

सञ्चालक वाङचुले स्थानीयको अनुरोधमा दुर्घटना नहोस् भन्ने उद्देश्यले सडक डाइभर्सन गरेको बताउनुभयो। खोलामा थुपारिएको डस्ट आफ्नै जमिनमा पर्ने उहाँको दाबी छ।नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस