समाचार प्रभाव : बाँफीवासीले पाउने भए शुद्ध खानेपानी

मंगलबार, २८ माघ २०७६, १५ : ०७
समाचार प्रभाव : बाँफीवासीले पाउने भए शुद्ध खानेपानी

- विमलबहादुर विष्ट

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ बाँफी गाउँका स्थानीयवासीले शुद्ध खानेपानी पाउने भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिनमा ‘वर्षांैदेखि घैँटाको दूषित पानी पिउँदै बाँफीका स्थानीयवासी’ भन्ने शीर्षकको समाचार यही माघ २३ गते सम्प्रेषण भएपछि दिपायल सिलगढी नगरपालिकाको पहलमा उक्त गाउँमा  शुद्ध खानेपानी वितरण गरिन लागिएको हो । 

    बाँफीवासीलाई शुद्ध पानी पु¥याउन सो नगरपालिकाले सेती नदीबाट लिफ्टिङ गरी खानेपानीको व्यवस्था गर्ने गरी रु ८६ लाख १८ हजार ५३४ रुपैयाँ ९० पैसाको लागतमा निर्माण गर्नेगरी एक सार्वजनिक बोलपत्र आह्वान गरेको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँफीवासीको पानीको समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा थियौँ, त्यसैमा झन् समाचार नै प्रकाशित भएपछि हामीले पानीका लागि बोलपत्र आह्वान गरेका छौँ, अब पानीको समस्या समाधान हुनेछ ।” 

    नगरपालिकाले  बोलपत्र आह्वानसँगै बाँफीवासी खुशी भएको स्थानीयवासी तिलकबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नहुँदा हामीलाई निकै दुःख थियो, अब समस्या समाधान हुनेभयो हामी खुशी छौँ ।” उक्त गाउँका २०० घरपरिवार वर्षौंदेखि आकासेपानी (घैँटाको पानी) पिउन बाध्य भएका थिए । गाउँ नजीक पानीको मुहान नभएका कारण स्थानीयवासी आकाशबाट आएको पानी घैँटोमा सङ्कलन गरेर महिनौँसम्म पानीको जोह गर्न बाध्य भएका र उक्त दूषित पानीका कारण त्यहाँका नागरिक बिरामीसमेत पर्दै आएका छन् । 
    पानीसँगै मिसिएर आउने पहेँलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखापर्ने गरेको स्थानीयवासी उमेशबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “घैँटामा जम्मा भएको दूषित पानी खाने गरेका कारण बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए  युवा र महिलासमेत यसबाट जहिले निकै प्रभावित हुँदै आएका छन्, हामीसँग पानीको अर्को विकल्प छैन् ।” पानीकै कारण लाग्ने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा विभिन्न स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आए पनि लामो समयसम्म पनि छालालगायत अन्य शरीरसम्बन्धी रोग निको नहुने गरेको उनीहरु बताउँछन् । 

    यसरी घैँटामा सङ्कलन गरिएको आकासेपानी यहाँका स्थानीयवासीले कम्तीमा पनि सात महिनासम्म प्रयोग गर्ने गरेको अर्का स्थानीयवासी देवबहादुर साउदले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “गाउँ नजीक पानी छैन, आकाशको पानी जम्मा गरेर हामी सात महिनासम्म त्यही पानी प्रयोग गर्छौं, पानीको समस्या कसैले समाधान गरिदिएन ।” महिनाँैसम्म जम्मा गरेको उक्त पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्सेनिक हुनसक्ने अनुमान गरिँदै आए पनि पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दा बाध्यताले सोही पानीको प्रयोग गर्दै आएको स्थानीयवासी कैलाश साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “जम्मा गरिएको पानीका कारण स्थानीय बिरामी पर्नाका साथै कपडा धुने गर्दा पूरै लुगा पहेँलो हुने र भाँडाकुँडामा समेत कालो दाग लाग्ने समस्या छ ।” 

    खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा पनि कसैले आफूहरुको सुनुवाइ नगरेको स्थानीयवासीको आरोप छ । उक्त गाउँमा वर्षौंपहिले एक गैसरकारी संस्थाले बनाएको आकासेपानी जम्मा हुने ट्याङ्कीमा सात महिनाका लागि पानी जम्मा गरी स्थानीयवासीले कामकाज चलाउँदै आएका छन् । सुख्खायाम लागेसँगै पानीका मुहान सुक्न थालेपछि उनीहरु त्यही जम्मा भएको फोहर पानी खाने पिउने गर्दछन् । घैँटामा जम्मा गरिएको आकासेपानीमा नुहाउनका लागिसमेत स्थानीयवासीले पालो कुर्नुपर्ने अवस्था आउने गरेको अर्की स्थानीयवासी पशुपति साउदले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “सङकलित गरिएको पानीमा सागपातका लागि सिँचाइ गर्न त परै जाओस् शौचालय पानी लैजान र नुहाउन पनि पालो कुर्नुपर्ने हुन्छ ।” पर्याप्त मात्रामा पानी नहुँदा हप्तादिनमा कम्तीमा पनि एक जनाको एकपटक नुहाउने पालो आउने गरेको उनीहरुको भनाइ छ । गाउँमा पानीकै समस्याका कारण कतिपय स्थानीयवासीले गाउँबाट निकै टाढा रहेको सेती नदी किनारामा बसाइँ नै सरिसकेको स्थानीयवासी बताउछन् । (रासस)