पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत

मंगलबार, २८ माघ २०७६, १४ : ४१
पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत

– वासुदेव पौडेल
पोखरा । प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ । पछिल्ला केही वर्षमा विनाशकारी भूकम्प, हिम आँधी, बाढीजन्य प्रकोप आदिले प्रभाव पारेको पोखराको पर्यटनमा यतिखेर भने भाइरल सङ्क्रमणको असर पर्ने सङ्केत देखिएको छ ।  

    छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइस यतिखेर नेपालको पर्यटनका लागि पनि चुनौती बन्ने प्रारम्भिक सङ्केत देखिएको पोखरेली पर्यटन व्यवसायीले गरेका छन् । पोखराका पर्यटन व्यवसायी चिनियाँ र अन्य पर्यटकसमेत घट्न थालेको बताउँछन् । 

    नेपालका लागि चीन महत्वपूर्ण पर्यटन बजार हो । चीनका नागरिक धेरै घुमफिर गर्ने नेपालका पर्यटकीय गन्तव्यमध्ये पोखरा पनि एक हो । सीमा जोडिएको मुलुक भएका कारण नेपालको पर्यटन बजारमा चिनियाँ पर्यटकले ठूलै योगदान पु¥याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउनुहुन्छ । 

    चीनबाटै शुरु भएको भनिएको कोरोना भाइरस र त्यसयता चलेका हल्लाका कारण नेपालको पर्यटन बजारमा पनि असर पारेको उहाँले बताउनुभयो । चिनियाँ पर्यटक विशेषगरी जनवरी, फेबु्रअरीमा आउने गरेको बताउँदै उहाँले यस समयमा कोरोना भाइरसका कारण उक्त सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । “नेपालको पर्यटनले यस्ता धेरै समस्या झेल्दै अघि बढेको छ,” उहाँले भन्नुभयो, “कोरोनाका कारण परेको प्रभावलाई न्यूनीकरण गर्दै अन्य विभिन्न विकल्प समेतको खोजी गर्दै पर्यटन व्यवसायी अघि बढेका छन् ।”

    नेपाली पर्यटन बजारमा पनि कोरोनाको प्रभाव पर्ने देखिएको उल्लेख गर्दै उहाँले  सम्भावित प्रभावलाई दृष्टिगत गरी सरोकारवाला निकाय बेलैमा सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखराको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष चिनियाँ पर्यटक ठूलै सङ्ख्यामा विदेश निस्कने गरेको नेपाल पर्यटन बोर्डका प्रशासकीय अधिकृत गोपाल भण्डारीले जानकारी दिनुभयो । नेपालमा भारतपछि दोस्रो महत्वपूर्ण पर्यटन बजार चीन रहेको उहाँको भनाइ छ ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार चीनबाट सन् २०१७ मा एक लाख चार हजार ६६४, सन् २०१८ मा एक लाख ५३ हजार ६०२ चिनियाँ पर्यटक नेपाल आएका थिए । त्यसैगरी सन् २०१९ मा एक लाख ६८ हजार ५४३ जना चिनियाँ नेपाल आएका थिए । चिनियाँ पर्यटक नेपाल आउने मुख्य याम भनेको जनवरी र फेब्रुअरी नै रहेको उहाँ बताउनुहुन्छ । यस वर्षको मुख्य याममा कोरोना भाइरसका कारण उक्त सङ्ख्यामा कमी आउने सङ्केतहरु देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या गुणत्मक रुपमा वृद्धि हुँदै गएको पाइन्छ । 

    नेपाल आएका चिनियाँ पर्यटकमध्ये अधिकांश पोखरा आउने गरेको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो । 
नेपाल आउने चिनियाँ पर्यटकमध्ये करीब ६० प्रतिशत यही जनवरी फेब्रुअरीका समयमा आउने गरेको बताउँदै उहाँले कोरोना भाइरसका कारण उक्त सङ्ख्यामा कमी आउन सक्ने सङ्केतहरु देखिइरहेको बताउनुभयो । “कोरोना भाइरस पोखराको पर्यटनका लागि पनि चुनौती बनेको छ,” उहाँले भन्नुभयो, “चुनौतीलाई सामना गर्दै यसले पारेको प्रभावलाई न्यूनीकरण गर्दै अघि बढ्ने सोचका साथ यहाँका पर्यटन व्यवसायी हार नखाई क्रियाशील बनेका छन् ।”

    चिनियाँ पर्यटक पदयात्रामा रुचि राख्ने र पदयात्राका लागि पोखरा र आसपासका क्षेत्र आकर्षक गन्तव्य भएकाले उनीहरूको आगमनले पदयात्रा पर्यटनमा ठूलै प्रभाव पारिरहेको छ । यस समयमा चिनियाँ नयाँ वर्षका साथै उनीहरूको लामो बिदा पर्ने भएकाले धेरै पर्यटक आउने गरेकामा कोरोना भाइरसकै कारण अहिले यो सङ्ख्या घटेको पाइएको उहाँले बताउनुभयो । 

    विगतका वर्षमा यस समयमा पोखराका अधिकांश होटल चिनियाँ पर्यटकले भरिने गरेकामा अहिले भने सुनसान जस्तै बनेको जानकारी पनि उहाँले दिनुभयो । नेपाल भित्रिएकामध्ये करीब ४० प्रतिशत विदेशी पर्यटक पोखरा आउने गरेकामा चिनियाँको सङ्ख्या औसतमा बढी छ । चिनियाँहरू साहसिक पर्यटनमा रुचि राख्ने र पोखरा आसपासमा यस किसिमका गतिविधि बढी हुने गरेका कारण नेपाल आउने कूल पर्यटक सङ्ख्याको झण्डै ५० प्रतिशत पर्यटक पोखरा पुग्ने अनुमान यस वर्षका लागि गरिएको थियो ।  

    नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको छ । नेपाल सरकारले यस अङ्ग्रेजी वर्षमा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पूर्वाधारहरु रहेकाले २० लाख पर्यटक भित्र्याउन खासै समस्या नरहेको सरकारको भनाइ छ । 

    यसै वर्ष दुइ दशकभन्दा लामो समयपछि चीनतर्फबाट उच्चस्तरीय भ्रमण पनि भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले यसै वर्ष नेपालको भ्रमण गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीलगायत अन्य सरकारी उच्चस्तरीय व्यक्तिहरुको पनि पछिल्लो समयमा भ्रमण भएको छ । यसका कारण पनि यस वर्ष चिनियाँ पर्यटकको सङ्ख्या बढ्ने अनुमान नेपाल सरकारको छ । 

    नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको यस अङ्ग्रेजी वर्षमा करीब साढे तीन लाख चिनियाँ पर्यटक नेपाल आउने अनुमान गरेको छ । पछिल्ला केही समयमा नेपालबारे खोजी गर्ने चिनियाँ नागरिकको सङ्ख्या बढ्दो रुपमा रहेको, सवा सय करोडभन्दा बढी जनसङ्ख्या रहेको चीन पर्यटकका रुपमा बाहिरिने देशहरुको सबैभन्दा अगाडिको सूचीमा रहेको र यस वर्ष नेपालमा चिनियाँ उच्चपदस्थहरुको भ्रमण पनि भएकाले नेपालले यस वर्ष चिनियाँको नेपाल आगमन बढ्ने अनुमान गरेको हो ।    

    नेपालमा कोरोनाको प्रभाव नभए पनि यसको अनावश्यक हल्ला गरिन सक्ने भएकाले त्यसतर्फ सरोकारवाला सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । विश्वव्यापी चासो र चर्चामा रहेको यो भाइरसको प्रभाव पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी सरकारले उपचारलगायत आवश्यक सबै व्यवस्था चुस्त–दुरुस्त पार्नुपर्ने भुजेलको भनाइ छ । 

    उहाँका अनुसार पोखरा आउने चिनियाँ पर्यटक विशेषगरी साहसिक पर्यटन रुचि राख्ने गरेकाले उनीहरु पोखराको सराङकोटबाट प्याराग्लाडिङ गर्दै फेवातालको किनारमा झर्ने, अल्ट्रालाइटबाट हिमाली दृश्य अवलोकन गर्ने, जीपलाइन तथा बञ्जीजम्प गर्ने लगायतका पर्यटकीय गतिवधिमा सामेल हुन्छन् । 

    पोखरा आसपसाका अन्नपूर्ण आधार शिविर, पुन हिललगायत स्थानमा पदयात्रा गर्न पनि चिनियाँ लोभिने गरेका छन् । वास्तवमा पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तव्य पनि यिनै हुन् । पोखरा आउन चिनियाँका लागि अर्काे मुख्य आकर्षण बौद्ध धर्मावलम्बीको बाहुल्यता पनि हो । चिनियाँ पर्यटकका लागि गौतम बुद्धको जन्मभूमिका कारण पनि नेपाल आकर्षक गन्तव्य बन्दै गएको छ ।

    पछिल्ला समयमा जनवरीको मध्यसम्म पोखरामा चिनियाँ पर्यटकको आगमन रामै्र भएको बताउने पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचन त्यसयता भने अत्यन्त कम सङ्ख्यामा आएको बताउनुहुन्छ । “अघिल्लो वर्षको तुलनामा यस वर्ष पोखरामा आउने चिनियाँ पर्यटकको सङ्ख्या झण्डै ७० प्रतिशतले घटेको छ”, उहाँले भन्नुभयो, “मध्य जनवरी यता त चिनियाँको आगमन नै एक किसिमले भन्नुपर्दा रोकिएजस्तै नै भएको छ ।”

    होटल सङ्घले चिनियाँ पर्यटकको कम आगमन भएको वास्तविकतासँग विद्यमान रिक्ततालाई पूरा गर्न विभिन्न वैकल्पिक योजना पनि अघि सारिसकेको छ । सङ्घले यसबीचमा चीनमा विगतमा गर्दै आइएको प्रवद्र्धनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै भारतलगायत दक्षिण एशियाली मुलुकमा प्रवद्र्धनात्मक कार्यक्रमलाई गति दिने उहाँले जानकारी दिनुभयो ।

    पछिल्ला वर्षमा पोखरा र आसपासका पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम बढेको छ । तुलाचनका अनुसार यस क्षेत्रमा झण्डै चार खर्ब रुपैयाँ होटेल लगायतका पूर्वाधार विकासमा खर्च भइसकेको छ ।

    चीन सरकारले कोरोना भाइरसकै कारण देशका नारिकलाई अन्य देश जान प्रतिबन्ध लगाएका कारण करीब एक महिनायता चिनियाँ पर्यटकको आगमन नभएको नाटा  पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवम् होटल वटिका रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले बताउनुभयो । चिनियाँ पर्यटकका कारण पोखराका होटेलमा चहलपहल हुने गरेको यस याममा कोरोना भाइरसका कारण व्यवसायलाई नराम्रोसँग प्रभाव पारेको उहाँले बताउनुभयो । 
कोरोना भाइरस पर्यटनलगायत क्षेत्रमा असर पारिरहेको अवस्थामा चिकित्सकले भने बेलैमा सजग बन्न सके यसको प्रकोपबाट बच्न सकिने बताएका छन् । 

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले सामान्य कुरामा सचेत बने मात्रै पनि यसको सङ्क्रमणबाट जोगिन सकिने सुझाव दिनुहुन्छ । जाडोको मौसमका कारण रुघाखोकी लाग्नु सामान्य भए पनि कोरोना भाइरसको सङ्क्रमणको शुरुको लक्षण पनि यस्तै हुने आचार्यले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण भएमा रुघाखोकीसँगै उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिने उहाँले जानकारी दिनुभयो ।
विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका समाचार आइरहेका छन् तर नेपालमा भने हालसम्म त्यसको खासै प्रभाव नपरेको उहाँले बताउनुभयो । “यसको सम्भावित सङ्क्रमणबाट बच्न रुघाखोकी लागेका व्यक्तिको सोझो सम्पर्कमा नजाने, भीडभाडबाट सकेसम्म टाढै रहने, सरसफाइमा ध्यान दिने आदि गर्नुपर्छ”, उहाँले सुझाव दिनुभयो । 
हात मिलाउँदा सिधै सङ्क्रमण हुन सक्ने भएकाले साथीभाइ भेट हुँदा नमस्कार गरेर अभिवादन गर्न उहाँले सुझाउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस