सल्ली खोलामा चामल अलपत्र

रासस

आइतबार, २६ माघ २०७६, १९ : १५
सल्ली खोलामा चामल अलपत्र

फाईल फोटो

काठमाडौँ । काठमाडौँ केरुङ, हिल्सा हुँदै सल्ली खोलासम्म आइपुगेको चार हजार क्विन्टलमध्ये तीन सय क्विन्टल चामल सल्ली खोलामा अलपत्र परेको छ । 

नेपाल खाद्य संस्थान सिमकोटमा आर्थिक वर्ष २०७५÷७६ आइपुग्नुपर्ने चार हजार क्विन्टलमध्ये तीन हजार ७०० क्विन्टल पुगेको र बाँकी चामल सल्ली खोलामा नै रोकिएको हो । भदौ महिनाबाट केरुङ हुँदै हिल्सा पुगेको चामल हिल्साबाट भदौ महिनाबाट टिपरबाट सिमकोट ओसार्न थालिएको थियो । 

सल्लीसम्म पुगेको चामल भदौदेखि मङ्सिर महिनासम्म सरदमुकाम सिमकोट ओसारिए पनि तीन हजार ७०० क्विन्टल  चामल मात्रै पुगेको सिमकोट खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । प्रमुख विष्टले भन्नुभयो, “मङ्सिर महिनाको अन्तिम सातादेखि जिल्लामा निरन्तर हिमपात भएको छ सिमकोट पुग्नुपर्ने बाँकी चामल हिमपातले कुहियो होला ।”

 हुम्लामा पुस र माघमा हिमपात भएको छ । सल्ली खोला उच्च हिमाली गाउँमा पर्छ । “सरदमुकाम सिमकोट भन्दा बढी हिमपात भएकोे त्यस क्षेत्रमा प्लाष्टिकको भरमा छोपेर राखिएको चामल कसो नकुहिएला र ?” उहाँले भन्नुभयो । हवाई मार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडाँै केरुङबाट स्थलमार्गबाट आउन ६ दिन लाग्छ । 

हवाई मार्ग भन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए तापनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा सिमकोट गाउँपालिका र खार्पुनाथा गाउँपालिकाका स्थानीयवासीलाई समस्या परेको छ । ठेकेदारको लापारवाही र ढिलासुस्तीले स्थलमार्गबाट सल्लीमा पुगेको चामल सिमकोट नपुगेर बिचबाटोमै अलपत्र परेको छ ।

 हवाईमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा लिनुभएका चङ्खेली देउतीबजै जेभिका ठेकेदार धु्रव शाहीले भने त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले कामदारलाई सोधेर जानकारी दिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस