कोरोना भाइरस भित्रन नदिन सचेतना अपनाउन थालियो, महोत्तरीका ११ स्थानमा  ‘हेल्थ डेस्क’

मंगलबार, २१ माघ २०७६, १० : २१
कोरोना भाइरस भित्रन नदिन सचेतना अपनाउन थालियो, महोत्तरीका ११ स्थानमा  ‘हेल्थ डेस्क’

सांकेतिक तस्बिर ।

महोत्तरी । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११  स्थानमा ‘हेल्थ डेस्क’  सञ्चालनमा ल्याइएको छ । 

 ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।

जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा  डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए । हेल्थ डेस्कमा उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ ।

नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । (रासस)