माडीका मेयर ठाकुर ढकालद्वारा अनसन बस्ने चेतावनी

सफल खबर संवाददाता

सोमबार, २० माघ २०७६, १७ : ४९
माडीका मेयर ठाकुर ढकालद्वारा अनसन बस्ने चेतावनी

– प्रकाश सिग्देल
चितवन । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संसोधन नभए आफू आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ । निकुञ्जका कारण माडी खुल्ला कारागार जस्तो भएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संसोधन गरी जनहित विपरितका बुँदाहरु हटाएर माडीका नागरिकको हितमा हुने गरी एन बनाउन आग्रह गर्नुभयो ।

यही ऐनका कारण  माडिवासी सधैं त्रासमा बाच्नु पर्ने अवस्था आएकाले सहज बाटोबाट मागमा सुनुवाई नभए आफू अनसन बस्ने चेतावनी दिनुभयो । सुर्य उदाउँदादेखि सुर्य नअस्ताएसम्म मात्रै निकुञ्ज भित्रको बाटोमा यात्रा गर्न पाईने भन्ने व्यवस्था ऐनमा भएकाले अँध्यारो हुनासाथ माडीवासीहरु घरै जान नपाउने अवस्था आएको र निकुञ्जका जनावरले खाएको बालिनालीको उचित राहत पनि नपाउने र आफूहरु सधैं निकुञ्जको त्रासमा बस्नु पर्ने बाध्यता रहेको उहाँले दुखेसो गर्नु भयो ।  

निकञ्ज छेउमा रहेको खोलाले व्यक्तिको जमिन जति कटान गर्दै जान्छ त्यती निकुञ्जले आफ्नो जमिन भनि पेल्दै आउने अवस्थाको पनि अन्त्य हुनुपर्ने ढकालले माग गर्नु भयो । आफूले पटकपटक प्रधानमन्त्रीदेखी अन्य मन्त्रि र पार्टी अध्यक्ष समेतलाई यो विषयमा कुरा राख्दा समेत आफूहरुको समस्या समाधान नभएको बताउँदै उहाँले अब पनि समस्या सुनुवाई नभए आफू अनसन बस्ने बताउँदै सहयोग गरीदिन सबैमा आग्रह गर्नु भयो ।  

प्रतिक्रिया दिनुहोस