साउनामा बाफ लिन छिरेका दम्पत्ति अब कहिल्यै फर्कदैनन्

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १५ : ५७
साउनामा बाफ लिन छिरेका दम्पत्ति अब कहिल्यै फर्कदैनन्

काठमाडौँ । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर दिनहुँजसो ललितपुरको जीमखाना जान्थे । जीम गर्थे, साउनामा बाफ लिन्थे । नुहाइधुवाइ गर्थे अनि आफ्नो गन्तव्यतर्फ लाग्थे । 

विशाल चोकको फिट एन्ड फाइन जिमखाना उनको लागि पानीपधेँरोजस्तो थियो । बुधबार साँझ सबा ६ बजे सोही जिमखाना गए हस्त । उनी एक्लै गएनन् साथमा श्रीमती नेत्रकुमारीलाई पनि लगे । 
पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिवसमेत रहेका ४० वर्षका हस्त करिब आधा घन्टा जिम गरे । उनीसहित श्रीमती ३७ वर्षकी नेत्रकुमारीले जिम गरेकी थिइन् । जिम गरेपछि उनीहरु दुबै जना बाफ लिन साउना छिरे । 

दम्पत्ति नै साउना छिरेका हुनाले कर्मचारीले थोरै ढिला हुँदैमा त्यति ध्यान दिएनन् । तर साउन छिरेको समय बढ्दै गयो । 

सधैँ केहीबेरमै निस्किने मगर लगभग अढाइ घन्टा बित्दा पनि साउनाबाट बाहिर ननिस्केपछि कर्मचारीहरुलाई शंका लाग्यो । ढोका ढकढकाए । केही आवाज आएन । कर्मचारीहरु मिलेर ढोका फोडे । भित्र हेर्दा दुबै जना बेहोस अवस्थामा थिए । 

घडीमा रातको ९ः १५ बजेको थियो । तत्काल प्रहरीलाई खबर भयो । दम्पती बेहोस भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले दुवैजनालाई तत्कालै अस्पताल लगे । चिकित्सकले दुवै जनाको मृत्यु भएको पुष्टि गरे ।


महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार आवश्यक अनुसन्धानमा प्रहरी जुटेको छ । 

प्रहरीका अनुसार साउनासँगै बाथरूममा नुहाउने क्रममा उनीहरू बेहोस भएका थिए। बाफ लिएर नुहाउन पस्दा उनीहरूले तातोपानी प्रयोग गरे। बाथरूममा झ्याल थिएन। ग्यास गिजरजडित धारा थियो। उनीहरु निस्सासिएर मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

प्रहरीले बाल्टिनमा तातोपानी भेटिएको छ। झ्याल नभएको बाथरूममा गिजर चलाउँदा अक्सिजनको मात्रा कम भएपछि उनीहरू बेहोस भएको आशंका गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा गिजर प्रयोग गरेका कारण उनीहरू निसास्सिएको आशंका गरिएको प्रहरीको भनाइ छ।

यो घटनापछि प्रहरीले जिम सञ्चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

साउना सञ्चालकले ग्राहकको सुरक्षामा लापरबाही गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ।

म्याग्दीको मालिका गाउँपालिका ४ स्थायी घर भएका मृतक दम्पत्तिका एक छोरा र छोरी छन्। चारै जना ललितपुर–१४ मै डेरामा बसिरहेका थिए।

प्रतिक्रिया दिनुहोस