हानिकारक रंगीचंगी कपाल

पत्रपत्रिकाबाट

बुधबार, १५ माघ २०७६, २१ : ११
हानिकारक रंगीचंगी कपाल

फाईल फोटो

काठमाडौं । प्राकृतिक रङलाई बदलेर विभिन्न रङमा परिणत गर्ने फेसन नै चलेको छ। कालो कपाल हुनुलाई राम्रो भन्ने सोचमा परिवर्तन आउन थालेको छ। केही समयअघिसम्म किशोरकिशोरी र युवायुवतीको कपाल फुल्नुलाई राम्रो मानिँदैनथ्यो। तर, हिजोआज तन्नेरीहरू नै कपाल सेतो बनाएर हिँड्न थालेका छन्। 

हेयर डाई अर्थात् कपाल रंगाउने दुई वटा तरिका छन्। एउटा प्राकृतिक तरिका र अर्को कृत्रिम। प्राकृतिक विधिमा मेहदीको पात पिसेर वा बजारमा पाइने मेहदीको पाउडर भिजाएर कपालमा लगाउने गरिन्छ। यसले कपालको प्राकृतिक रङ बदलेर अर्कै रङ बनाउँदैन। कपाललाई हल्का चम्किलो बनाउन मद्दत गर्छ। कुनै कृत्रिम रङ मिसावट नगरिएको मेहदी लगाउँदा कपालमा कुनै हानि हुँदैन। तर, मेहदी लगाएर कपाल रंगाउने साह्रै कम हुन्छन्। कपालमा विभिन्न खालका कडा रङ प्रयोग गर्ने गरेको पाइन्छ। कृत्रिम तरिकाले कपाल तीन तरिकाले रंगाउने गरिन्छ। यो अस्थायी, अर्ध–अस्थायी र स्थायी किसिमको हुन्छ। रङ लगाएपछि दुई वा तीन पटकमा नुहाउँदा जाने रङ अस्थायी हो।

पाँचदेखि १० पल्ट नुहाउँदा जाने अर्ध– अस्थायी हो भने कपाल बढ्दै जाँदा टुप्पातिर सर्दै जाने तर रङ भने नजाने खालको चाहिँ स्थायी हो। यी तीनै किसिमका रङ कपाल र हाम्रो स्वास्थ्यका लागि हानिकारक छन्। अस्थायी रङले कपालको बाहिरी भागमा मात्र रङ दिने काम गर्छ। अर्ध–अस्थायी रङ केही मात्रामा कपालभित्र पस्छ। स्थायी रङ चाहिँ कपालभित्र गएर प्राकृतिक रङलाई ब्लिच गरेर रङअनुसारको कपालको रङ बनाउँछ। हामीले देख्ने गरेका गोल्डेन, ब्राउन, सेतो, हरियो रङ स्थायी हेयर डाईको परिणाम हो। यस्ता रङमा एमोनिया, हाइड्रोजन पेरोअक्साइड र फिनाइलिन डाइमिनजस्ता रसायन हुन्छन्। एमोनियाले रौँको माथिल्लो भागमा रहेको प्रोटिनलाई सोसेर वा टुक्राएर कृत्रिम रङलाई कपालभित्र पठाउने काम गर्छ। हाइड्रोजन पेरोअक्साइडले रौँको प्राकृतिक रङलाई हटाएर कृत्रिम रङ बनाउँछ। 

यी रङले कपाल र छालामा दुई तरिकाले असर गर्छन्। कपाल झर्ने, टुक्रिने, रुखो हुनेजस्ता असर तत्काल देखिन्छन्। रङको एलर्जी हुने सम्भावना बढी हुन्छ। डाबर आउने, चिलाउने, पानी भरिएको फोका उठ्नेजस्ता समस्या देखापर्छन्।

यस्ता रङका कारण अनुहार नै सुन्निने सम्भावना पनि हुन्छ। दूरगामी असरका रूपमा कपालमा लगाएको रङ कपालको जरामार्फत अनुहार तथा घाँटीसम्मको छालामा थुप्रिँदै जान्छ। अनुहारदेखि घाँटीसम्मको छालाको रङ कालो देखिन्छ। आँखाको वरिपरि पनि कपालमा लगाएको रङ थिग्रिँदै जान्छ र कालो देखिन्छ। यस्तो अवस्थामा पुगेकाहरूको कुनै उपचार हुँदैन। कपालमा लगाएको रङ अनुहार तथा घाँटीसम्म पुगेर छाला कालो भएकाहरू उपचारका लागि आउने गर्छन्। तर, यस्तो अवस्थामा उपचार गराएर खासै फाइदा हुँदैन। 

गर्भवती महिलाले कपालमा यस्ता रङ प्रयोग गर्दा जन्मजात अपांगता भएका बच्चा जन्मिने, गर्भ तुहिने सम्भावना हुन्छ। हर्मोनसँग सम्बन्धित समस्या आउन सक्छ। कतिपयलाई रङमा हुने एमोनियाले श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्न सक्छ। लामो समय हेयर डाई गराउँदा पिसाबथैली, स्तन तथा रक्त क्यान्सर हुने जोखिम बढ्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ। त्यसैले फेसनेबल देखिने लोभमा स्वास्थ्यलाई हानि पुर्‍याउने यस्ता रङ प्रयोग गरेर कपाल रंगीचंगी नबनाउँदा नै राम्रो हुन्छ। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस