काठमाडौँ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने बताउनुभएको छ ।
सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उहाँले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताउनुभयो । “हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु”, उहाँले भन्नुभयो, “केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।”
सभामुखमा निर्वाचित भएलगत्तै अब आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको उहाँको भनाइ थियो । सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताउनुभयो ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उहाँले एमसिसीसम्बन्धी सहयोग लिने÷नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गर्नुभयो । “एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु”, उहाँले भन्नुभयो ।
लोकतन्त्रमा विरोध भइरहन्छन्
सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उहाँले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही व्यक्तिले विरोध गरेका थिए ।
उहाँले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताउनुभयो । “यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन”, त्यस विषयमा आफूलाई बोल्न बाध्य नपार्न आग्रह गर्दै उहाँले भन्नुभयो, “केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।”
पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गर्नुभएको थियो । सभामुखलाई कार्यकक्षमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद्का कर्मचारीले स्वागत गरेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ माघ २०७६, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
मार्क्सवादमा जस्तो शक्ति र ऊर्जा अन्य सिद्धान्तमा छैन : अग्निप्रसाद सापकोटा
संघीय संसद्को ओझ र गरिमा घट्यो : अग्निप्रसाद सापकोटा
२०८४ मा एक्लै लडेर पहिलो पार्टी बन्छौं : माओवादी केन्द्र
धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष
माओवादीले शनिवार ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ विशेष अभियानको उद्घाटन गर्ने