विवाहअघि सेक्स नगर्न युवाहरूलाई ब्राजिल सरकारको अपिल

एजेन्सी

सोमबार, १३ माघ २०७६, १३ : ५३
विवाहअघि सेक्स नगर्न युवाहरूलाई ब्राजिल सरकारको अपिल

एजेन्सी । ब्राजिलमा किशोरावस्थामा गर्भवती हुने र एचआईभी संक्रमण हुने समस्या निकै बढेपछि सरकारले युवाहरूलाई विवाहअगाडि यौनकर्म नगर्न आह्वान गरेको छ । 

ब्राजिलका मानवअधिकार तथा परिवार मन्त्री डामारेस एल्भेसले युवाहरूलाई संयम राख्न सल्लाह दिँदै भने, ‘हाम्रो देशका युवा सामाजिक दबाबमा परेर किशोरावस्थामै शारीरिक सम्बन्ध बनाइरहेका छन् । तर पार्टीमा सेक्स विनै अन्य तरिकाले पनि रमाइलो गर्न सकिन्छ ।’

डामारेसले आई चूज टु वेट (म पर्खिन्छु) अभियान शुरू गरेका छन् । यस अभियानका लागि उनले सामाजिक सञ्जालमा धेरै फलोअर भएका चर्चका फादरहरूसँग सल्लाह लिएका छन् । 

यसका साथै उनले ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाका बारेमा बहस शुरू गरेका छन् । 

विपक्षी वामपन्थी दल र आलोचकहरूले सेक्समा संयमका लागि जोड दिएर सरकारले युवाहरूलाई सेक्सप्रति गलत धारणा राख्न प्रेरित गरेको र उनीहरूको स्वास्थ्यमा हानि गर्न सक्ने बताएका छन् । 

ब्राजिलमा कानून विषयका प्राध्यापक तथा सामाजिक अभियन्ता डेबोरा डिनिजले बताएअनुसार, यौनमा संयम गर्नका लागि अहिलेसम्म बनेका सबै नीतिहरू निष्प्रभावी छन् अनि किशोर गर्भावस्था र यौनरोगमा पनि यी असफल साबित भइसकेका छन् । धार्मिक मान्यताहरूको आधारमा सरकारी नीति बनाउने कोशिश गरेको डिनिजको भनाइ छ । 

राष्ट्रपति जेर बोल्सोनारो र उनका सहयोगीहरूले वामपन्थीहरूमाथि कम उमेरमै यौन सम्बन्ध बनाउन किशोरहरूलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । 

ब्राजिलको किशोर गर्भावस्था दर संसारमै सबभन्दा धेरै छ । वैश्विक स्तरमा टीनएज प्रेग्नेन्सी दर ४४ प्रतिशत हुँदा ब्राजिलमा यो ६२ प्रतिशत छ । 

ब्राजिलमा यौन संक्रमणका केस पनि निकै धेरै छन् । स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०१८ मा यौनरोगका ४३ हजार ९४१ नयाँ केस आए जुन २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो ।

प्रतिक्रिया दिनुहोस