नवनिर्वाचित सभामुख अग्नि सापकोटाको सपथ आज

सपथ अघि नेकपा अध्यक्ष प्रचण्डसँग भेट्न पुगे खुमलटार

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १० : १८
नवनिर्वाचित सभामुख अग्नि सापकोटाको सपथ आज

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति निवासमा अहिले बिहान ११ वजे सापकोटाले पद तथा गोपनियताको सपथ लिदैंछन् । सापकोटा हिजो संसदमा निर्विरोध सभामुख निर्वाचित भएका थिए ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा संसदकै कर्मचारीमाथी बलात्कार प्रयासको आरोपमा पदमुक्त भएपछि संसदले चार महिनापछि सभामुख पाएको हो । महराले १४ असोजमा पदबाट राजीनामा दिएपछि संसद सभामुख विहिन अवस्थामा थियो ।

माघमा सभामुख चुनावका लागि उम्मेदवारी दर्ताका क्रममा सापकोटाको मात्र उम्मेदवारी परेपछि आइतबार बसेको संसद बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । निर्वाचित सभामुख सापकोटाको सपथ ग्रहणको सबै तयारी पूरा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सभामुख निर्वाचित भएसँगै उनले संसद भवनमै प्रतिपक्ष दलका नेताहरु, नेकपाका अध्यक्षद्वयसँग भेट गरेर खुसी साटेका थिए । सपथ ग्रहण अगाडी उनले आज बिहान नेकपा अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर भेट गरेका छन् ।

बिहान प्रचण्ड निवास पुगेका उनले पार्टीले गरेको सहयोग प्रति धन्यवाद दिएको सापकोटाको पारिवारिक स्रोतले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस