प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, १५ : ५०
प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

काठमाडौँ । प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई चयन गरिएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो “यससभाका माननीय सांसद श्री अग्नि प्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकोले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम ७ को उपनियम ३ बमोजिम माननीय श्री अग्नि प्रसाद सापकोटा र्निविरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।”
 

शिक्षकदेखि मन्त्रीसम्म 

सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा विसं २००१ फागुन २४ गतेका दिन बुबा धनपति र आमा तीलमाया सापकोटाको कोखबाट जन्मिएका अग्निप्रसाद सापकोटा नेपाली राजनैतिक वृत्तका चर्चित व्यक्ति हुन् । 
जिल्लाको कम्युनिष्ट राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका सापकोटाले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी शिक्षण पेसामा आवद्ध थिए । समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका सापकोटाले १६ वर्षसम्म शिक्षण पेशा गरेका हुन् । 

साँगाचोक स्थित जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि उनी पराजित भएका थिए ।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालदेखि नेकपाको केन्द्रीय सदस्य हुन् । द्वन्द्वकालमा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा सापकोटा वार्ता टोलीका सदस्य समेत बनाइएका थिए । दोस्रो संविधानसभा चुनावमा सापकोटा सिन्धुपाल्चोक २ बाट निवार्चित भएर आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जना सभासद मध्येका एक हुन् । 

नेपाली राजनीतिमा स्पष्ट वक्ताको रुपमा पनि सापकोटालाई लिने गरिन्छ । सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन् । ४२ वर्षदेखि राजनीतिमा सक्रिय सापकोटा विगतमा सूचना तथा सञ्चारमन्त्री हुँदै तत्कालीन एकीकृत नेकपा माओवादीको प्रवक्ता पनि भए । 

प्रतिक्रिया दिनुहोस