जसको पाँच दिनपछि विहे हुँदै थियो !

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १४ : १२
जसको पाँच दिनपछि विहे हुँदै थियो !

कञ्चनपुर । भनिन्छ नि कसैको अकालमै मृत्यु भयो भने ‘दैव पनि कति निष्ठुरी रहेछन् सयम नआउँदै टपक्क चुँडेर लग्यो ।’
निष्ठुरी हुनुको पनि एउटा सीमा हुन्छ होला नि ! आयो टप्प टिप्यो, मिति पुग्यो, लग्यो टारेर टर्दैन त्यो । हो, कञ्चनपुरकी रमिता भट्टलाई पनि विहे हुनुभन्दा पाँच दिन अघि नै दैवले चुँडेको छ । 
विहे घरमा चहलपहल हुँदै थियो । ध्वजापतकाहरु छाउँदै थिए । छरछिमेकीहरु, आफन्तजनहरु रमितालाई बधाई र शुभकामनाहरु दिइरहेका थिए । किनमेलको काम तीव्र रुपमा हुँदै थियो । घरमा खुसीको बहार छाउँदै थियो । 

रमिता आफ्नो विहेको लागि निम्तोको कार्ड बाँडदै थिइन् । पाँच दिनपछि उनी बेहुली हुँदै थिइन् । 
आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल जाने तयारी गर्दै थिइन् । 
घरका सदस्यहरुले रमितालाई भने– बेहुली आफैँ विहेको निम्तो बाँड्न हिँड्नु राम्रो होइन, नजाऊ ।
‘केही हुँदैन, नजिकै हो, आइहाल्छु नि, भोलिबाट नहिँडौँला’ रमिताले भनिन् । र विहेको निम्तो बाँड्न निस्किन् । 
रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन,  निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट ज्यान गएको छ । दैव पनि कति निष्ठुरी, रवितालाई बेहुला बन्न निदई चुँडेर लग्यो । 

बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर’ आएकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय बाहुन–क्षत्री सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन । 

माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । माघ १३ मा विवाहको तयारी थियो, हामीहरू सरसामान जुटाउनेदेखि निम्तो बाँड्ने काममा जुटेका थियौं,’ रमिताका ससुरा हरिसिंह टेरले भने, ‘तर आज यो के सुन्नु परेको हो !’

रमिता क्याम्पसका साथीहरूलाई बिहेको कार्ड दिन गएकी थिइन् । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

रमिताको मृत्यु भएपछि प्रकाश भावविह्वल छन् । उनले फेसबूकमा मर्मस्पर्शी स्टाटस लेखेका छन् ।

बिहेका लागि रातो साडी खरिद गरिसकेको भन्दै उनले बिहेको साडी र सिउँदोमा सिन्दुर सजिएको हेर्ने सपना रहेको उल्लेख गरेका छन् ।प्रकाशले आफू पनि छिट्टै आउने भन्दै पर्खिन आग्रह गरेका छन् ।

के लेखे प्रकाशले ?

तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी,  पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् ।

मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ? यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया । अब एक गएपछि अर्को आफैँ आउँछ।
 

प्रतिक्रिया दिनुहोस