विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १३ : १६
विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो । 

प्रतियोगिताका लागि कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोट हुनुभएको छ । 

यसअघि १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा पर्नुभएको हो । त्यसैगरी वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहनुभएको छ । त्रिकोणात्मक खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा यही माघ २२ देखि २९ गतेसम्म हुनेछ । 

प्रतिक्रिया दिनुहोस