बलात्कार आरोपित सिद्धबाबा मुद्दाको सुनुवाइ चलिरहँदा किन गए भारत ?

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १६ : ५९
बलात्कार आरोपित सिद्धबाबा मुद्दाको सुनुवाइ चलिरहँदा किन गए भारत ?

विराटनगर  ।  बलात्कार आरोपी सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी बिहीबार दिउँसो भारततिर लागेका छन् । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ चलिरहेका बेला उनी सुटुक्क भारत लागेका हुन् । 

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई नेपाल भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ हिँडेका हुन् ।

सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर लागेका हुन् । उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो ।  कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारीमा आएको छैन । 
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङ प्रहरीले जनाएको छ । 

सिद्धबाबाका अनुयायीहरुले  सिद्धबाबा उपचारका लागि भारतको दिल्ली गएको बताएका छन् । सिद्धबाबाले विराट नर्सिङहोमबाट रेफरपूर्जी बनाएर  थप उपचारका लागि दिल्ली लागेको उनका अनुयायीहरु बताउँछन् । 

आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ । 

दीक्षा दिने भन्दै सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा बोलाएर कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिलाले सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सिद्धबाबालाई प्रहरीले मंसिर १६ गते पक्राउ गरेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस