बेल्जियमकी राजकुमारी अष्ट्रिडलाई भरतपुर महानगरद्वारा एयरपोर्टमा भव्य स्वागत (फोटोफिचर)

सूर्यप्रकाश कँडेल

बुधबार, ०८ माघ २०७६, १२ : ५१
बेल्जियमकी राजकुमारी अष्ट्रिडलाई भरतपुर महानगरद्वारा एयरपोर्टमा भव्य स्वागत (फोटोफिचर)

चितवन । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अष्ट्रिडलाई बुधबार बिहान भरतपुर महानगरले भरतपुर एयरपोर्टमा भव्य स्वागत गरेको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले विमानसम्म पुगेर राजकुमारी अष्ट्रिडलाई पुष्पगुच्छाले स्वागत गरेका हुन् । 

राजकुमारी अष्ट्रिडको स्वागतका लागि चितवनका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, भरतपुर महानगरका कर्मचारी, सञ्चारकर्मी लगायत भरतपुर विमानस्थलमा जम्मा भएका थिए ।

राजकुमारी अष्ट्रिडको स्वागतमा एयरपोर्ट परिसरमा नौमती बाजा टोलीले सांगीतिक वातावरण सिर्जना गरेको थियो । विमानबाट ओर्लेर भीआईपी कक्षतिर आउँदा बाटोमा राजकुमारी अष्ट्रिडले स्वागत गर्न बसेकाहरुबाट पुष्पगुच्छा लिएकी थिइन् ।

भीआईपी कक्षबाट बाहिरिएपछि एयरपोर्ट परिसरमा राजकुमारी अष्ट्रिडले नौमती टोलीले बाजा बजाएको केहीबेर अवलोकन समेत गरिन् । एयरपोर्टबाट राजकुमारी अष्ट्रिड कावासोती जिल्ला अस्पताल उद्घाटनका लागि नवलपुरतर्फ प्रस्थान गरिन् ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजकुमारी अष्ट्रिडलाई भरतपुरमा स्वागत गर्न पाउँदा आफूहरुलाई खुसी लागेको प्रतिक्रिया दिइन् । राजकुमारी अष्ट्रिड बुधबार साँझ मेघौली पुगेर त्यहाँस्थित मेघौली ताज सेराई होटलमा बास बस्ने छिन् । बिहीबार र शुक्रबार राजकुमारी अष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस