उत्तर कोरियासँग वार्ता गर्न अमेरिका तयार !

एजेन्सी

मंगलबार, ०१ फागुन २०७४, ०७ : २७
उत्तर कोरियासँग वार्ता गर्न अमेरिका तयार !

काठमाडौं । उत्तर कोरियासँग छलफल र वार्ताको सम्भावनाबारे अमेरिकाले सकारात्मक संकेत दिएको छ । दक्षिण कोरियाका राष्ट्रपतिको उत्तरका उच्च अधिकारीहरुसँग प्रत्यक्ष भेट भएदेखि नै अमेरिकासित पनि वार्तामा सहभागी गराउन दक्षिण कोरियाले लगातार प्रयास गरिरहेको छ ।

यस्तोमा प्रतिबन्ध र दबाब जारी राखिरहेपनि उत्तर कोरिया वार्ताका लागि अघि सरे अमेरिका पनि पछि नहट्ने अमेरिकी उपराष्ट्रपति पेन्सले बताएका हुन् ।

हालै उत्तर कोरियाली नेता किमकी बहिनीले राष्ट्रपति मुनलाई हस्तलिखित पत्र दिनुका साथै प्योङयोङमा बैठक बस्न समेत आमन्त्रण गरेको खबर सार्वजनिक भएको थियो ।

त्यसैकारण अमेरिकाले पनि उत्तर कोरियासँग कूटनीतिक संलग्नता राख्न तयार रहेको पेन्सले बताए । एक पत्रिकाको अन्तर्वार्तामा उनले उत्तर कोरिया अहिले इच्छुक भए अमेरिका पनि विनाशर्त वार्ता गर्न तयार रहेको बताएका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वर्षौँदेखि वार्ता गर्ने प्रयास विफल भएको हुँदा उनीहरुले हतियार नबिसाएसम्म छलफलको कुनै अर्थ नरहने बताएका थिए ।

यस्तैमा नेता किम र ट्रम्पबीचको विवाद पछिल्लो समय धेरै अपमानजनक र धम्कीपूर्ण बन्न पुग्दा विश्वभर चिन्ता व्यक्त गरिएको थियो । तर वार्ताका लागि तयार रहेपनि उत्तर कोरियाले आफ्नो हतियार निर्माण कार्य नरोक्ने बताएकाले अमेरिका लगायत सहयोगी मुलुकहरुले पनि प्रतिबन्ध र दबाब जारी राख्ने बताइएको छ ।

उता दक्षिण कोरियाले भने युद्धका समयमा उत्तरमा छुटेका परिवारलाई मिलाउनकै लागि भएपनि उत्तर कोरियासँग संलग्नता बढाइरहने बताएको छ ।

उत्तर कोरियाले यसमा सहमति जनाएपछि कोरियाली प्रायद्विपमा सैन्य तनाव पनि कम हुँदै जाने दक्षिण कोरियाको भनाइ छ । दक्षिण कोरियाका एकीकरण मन्त्रीले भने, ‘उत्तर र दक्षिण कोरियाबीच शान्तिपूर्ण सम्बन्ध कायम गराउन दुवै देशका तर्फबाट कठिन प्रयासहरु जारी रहनुपर्छ तर यसलाई सफल बनाउन अन्तराष्ट्रिय समर्थन पनि उत्तिकै आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस