प्रदेशसभा सदस्य दीपक मनाङेले गरे हातपात

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, २२ : ४२
प्रदेशसभा सदस्य दीपक मनाङेले गरे हातपात

काठमाडौं । प्रदेशसभा सदस्य दीपक मनाङे फेरि विवादमा तानिएका छन् । उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका हुन् ।

पोखरामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङबाट आएका खेलाडीको व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले हातपात गरेका हुन् । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पनि पनि झापड हान्ने धम्की दिएका छन् । उनले फुटबलको नाममा भ्रष्टाचार भएको र खेलाडीको बिचल्ली बनाइएको पनि आरोप लगाए ।

एन्फा कास्कीले प्रतियोगिताको टाइसिट बनाउँदा एन्फा मनाङका अध्यक्षलाई वास्ता नगरेको र फोन गर्दा समेत नउठाएको बताउँदै उनले प्रतियोगिता देखेर आफूलाई लाज लागेको बताए । मुख्यमन्त्री कप भनेर आयोजना गरेको फुटबल प्रतियोगिता मुख्यमन्त्रीलाई नै थाहा नभएको समेत उनले प्रतिक्रिया दिएका छन् ।

उनले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिन पनि नसक्ने बताए । मनाङे मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वा्चित भएका थिए । उनी गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।