असावधानीले ज्यान गयो, न बाबुआमा रहे न छोराछोरी !

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, १६ : २९
असावधानीले ज्यान गयो, न बाबुआमा रहे न छोराछोरी !

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र दामन पर्यटकीय नगरी हो । समुद्र सतहबाट २४०० सय मिटरमा हाइटमा भएकाले यो ठाउँमा यतिबेला हिउँ पर्छ । 

हिउँसँग रमाउन स्वदेशी तथा विदेशी पर्यटक यतिबेला दामन जान लस्कर लाइरहेका छन् । मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामनमा विगत एक सातादेखि राम्रोसँग घाम लागेको छै । मुटु कमाउने चिसो ह्वात्तै बढेको छ । तुसारोले ढम्म ढाकिएको थियो । 

तर पनि दामनमा हिउँ खेल्नको लागि धेरै पर्यटकहरु गइरहेका छन् । त्यही भीडमा भारतको केरलाबाट आएका १५ जनाको परिवार पनि दामन पुग्यो । 

केरलाबाट आएका भारतीय पर्यटक काठमाडौं र त्यहाँबाट पोखरा घुम्दै दामनमा हिउँ खेल्न पुग्यो । पोखराबाट बस रिजर्भ गरेर रमाउँदै–रमाउँदै, सोमबार बेलुका ९ बजे उनीहरु दामनको एभरेष्ट रिसोर्ट पानोरमामा बास बस्न पुगे । 

ढम्म कुहिरो थियो । चिसो अत्यधिक । जाडोले हातगोडा थरथर भएका थिए । साना बालबालिकासहित आफन्त मिलेर गएका भारतीय पर्यटक १५ जना सोही होटल पानोरमामा बस्ने निधो गरे । 
‘हामीलाई चार वटा कोठा चाहिन्छ, होटलमा खाली छ ?’  
कति जना हुनुहुन्छ ? होटलका कर्मचारी बोले ।
हामी बालबालिकासहित १५ जना छौँ । 
‘चार वटा खाली छ, तयारी हुनूस्’ कर्मचारीले भने ।

११, १२, १३ र १४ नम्बर कोठा होटलका कर्मचारीले देखाए । सोही कोठा उनीहरुले रोजे र बस्ने निर्णय गरे । 
१३ र १४ नम्बर बुक गरेकाहरू पहिला खाना खाएर सुत्न गएका थिए।दुई परिवारका सदस्य ११ र १२ नम्बर रूममा बस्ने निधो थियो।
११ र १२ नम्बर रूममा दुई पुरूष, दुई महिला, दुई बालक र दुई बालिका बस्ने टुंगो भयो । अन्य सात जना १३ र १४ नम्बर कोठामा गए।

११ र १२ नम्बरको कोठामा चिसो बढेको अनुभूति उनीहरुलाई भयो । 
‘बालबच्चा छन् कोठा तात्न सकेन’ होटलका कर्मचारीलाई भने । 
‘के गर्ने त ?’ होटलका कर्मचारीले भने ? 
आठै जना ११ नम्बर कोठामा बसे तातो आउँछ कि ! 
त्यही सल्लाह गरेर १२ नम्बर कोठालाई छोडेर ८ जना एउटै कोठा ११ नं मा बसे । 

‘ओछ्यान तातेन, एकै ठाउँमा सुत्दा पनि ?’ फेरि होटलका कर्मचारीलाई उनीहरुले गुहारे, ‘बच्चालाई चिसो लाग्छ, के गर्ने ?’ 
१३ र १४ मा रहेका ‘इलेक्ट्रिक बेड’ तात्यो भन्दै सात जना गएर सुते । निदाए पनि । 
यता ११ नम्बरमा ८ जना सुतेका दुई परिवारका सदस्यले कोठा तातेन भन्दै हिटर माग्न थाले ।

‘इलेक्ट्रिक बेड’ त यता पनि थियो । होटलका कर्मचारीले हिटर दिन आनाकानी गरेका थिए । तर उनीहरुले जबर्जस्ती गर्दै हिटर लिएर गए । 

दामन प्रहरीका अनुसार कोठा बुक गरेर खानपिन गरी सुत्न गएका दुई परिवारका सदस्य कोठामा बेहोस् भए । उनीहरु बेहोस् भएको बिहानमात्र थाहा भयो ।
होटलका कर्मचारीका अनुसार कोठाका झ्यालढोका सबै बन्द गरेर हिटर बालेका आठै जना एउटै कोठाका दुई बेडमा सुतेका थिए । 
‘हामीले दुई बजेसम्म गेस्टलाई सर्भिस दिएर सुत्न गयौं, बिहान उठेर चिया लैजाँदा कोठा नै खुलेन’ होटलका कर्मचारीले भने, ‘१३ र १४ नम्बर कोठाका पर्यटक आएर जोडले ढोका धकेल्दा भित्र आठै जना बेहोस थिए।’

होटलमा बेहोस भएको खबर आउनसाथ सबैलाई हामीले काठमाडौँबाट हेलिकप्टर मगाएर उपचारको  लागि पठाइयो’ मकवानपुर प्रहरी प्रमुख सुशीलसिंह राठौरले भने । झ्यालढोका थुनेको कोठामा हिटर बालेर सुतेका उनीहरू निसास्सिएर बेहोस भएका उनी बताउँछन् । 

दुई पटक गरेर काठमाडौंको ह्याम्स अस्पतालमा पठाइएको आठै जनाको मृत्यु भइसकेको छ । उनीहरुको शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा लगिएको छ । 

मृत्यु हुने सबै केरलाका छन्। मृत्य हुनेहरु दुई परिवारका नाता पर्नेहरु थिए । मृत्यु हुने एकै परिवार र नाताभित्रका रहेको प्रहरीको भनाइ छ । 
मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र कप, ३७ वर्षीय प्रवीण कप, ३२ वर्षीया सरिया कप, ५ वर्षीय अभि कप, ७ वर्षीया अर्चना कप, ५ वर्षीय वैशनव कप र ९ वर्षीया बन्द्रा कप रहेका छन्। 
दामन घुमेर काठमाडौं हुँदै भारत फर्किने योजना बनाएका उनीहरूका न बाबुआमा रहे, न त छोराछोरी !

घुम्न सँगै आएका अन्य सात जना शोकको भकारी बोकेर ८ जनाको शव लिएर केरला फर्कदै छन् । 

प्रतिक्रिया दिनुहोस