नेकपाका केन्द्रीय समिति बैठक राष्ट्रिय सभा गृहमा

सफल खबर संवाददाता

मंगलबार, ०७ माघ २०७६, ०९ : ५६
नेकपाका केन्द्रीय समिति बैठक राष्ट्रिय सभा गृहमा

काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको टोली यति जम्वो छ की पार्टी बैठक बस्न समेत उसलाई पार्टी प्यालेस, बैंकेट वा सभागृहहरु नै खोज्नुपर्ने बाध्यता छ । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएयता नेकपाको केन्द्रीय समितिको अहिलेसम्म बैठक बस्न सकेको छैन् ।

२०७५ जेष्ठ १० मा निर्वाचन अयाोगलाई केन्द्रीय सदस्यहरुको नागरिकता लगायत विवरण बुझाउनु पर्ने भएकाले त्यसको संकलनका लागि मात्र केन्द्रीय समिति बैठक एक पटक बसेको थियो । त्यसयता केन्द्रीय समिति बैठक बस्न सकेको छैन् । १५ माघमा नेकपाले पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ । ४ सय ४१ जना केन्द्रीय सदस्य, आमन्त्रित सदस्य सहितको जम्वो केन्द्रीय समिति बैठक बस्नका लागि उसलाई पार्टी कार्यालयमा ठाँउ छैन ।

त्यही भएर उसले भृकुटीमण्डपको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने गरी ठाउँ तय गरेको छ । नेकपा केन्द्रीय कार्यालयका अनुसार, केन्द्रीय समिति बैठक कति दिन सम्म चल्छ भन्ने ठेगान लाग्न नसकेकोले अहिले तीन दिनका लागि पार्टी बैठकका लागि भन्दै राष्ट्रिय सभा हल बुकिङ गरिएको छ ।

‘राष्ट्रिय सभा गृहमा केन्द्रीय समितिको बैठक राख्ने गरी तयारी गरेका छौं,’ नेकपा केन्द्रीय कार्यालयका एक सदस्यले सफलखवर अनलाइनसँग भने,–‘बैठक केति दिन चल्छ, अहिले थाहा छैन, अहिलेलाई तीन दिनका लागि सभागृह बुकिङ गरिएको छ ।’

बैठकमा अध्यक्ष प्रचण्डले दुई अध्यक्षकै तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । संगठनात्मक रुपमा लिईएको र सचिवालय हुंदै स्थायी समितिले अनुमोदन गरेका निर्णय अनुमोदन, विधान संसोधन र समसामायिक प्रस्ताव समेत नेकपाको केन्द्रीय समितिका एजेण्डा छन् ।

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिने गरी समय मिलाउन अप्ठयारो आउने भएपछि नेकपाले राजनीतिक प्रतिवेदन पेश गरेपछि केन्द्रीय समिति सदस्यहरुलाई विभिन्न समुह वनाई छलफल गर्ने र समुहबाट टिम लिडर बनाएर बैठक हलमा सुझाव तथा टिप्पणीका रुपमा प्रस्तुत गर्ने गरी बैठकको तयारी भईरहेको नेकपा नेताहरुले बताएका छन् ।

प्रचण्ड पार्टीमा कार्यकारी अध्यक्ष भएपछि नेकपाले पार्टी संगठनलाई गति दिन एक वर्षसम्म बस्न नसकेको स्थायी समिति वैठक २९ मंसिर देखि पुस ६ सम्म राखेको थियो । त्यसपछि २३ पुसमा केन्द्रीय समिति बैठक वस्ने गरि मिति तोकिएको थियो । तर पार्टी नेताहरुनै राष्ट्रिय सभा चुनावको तयारीमा रहेका कारण माघ १५ मा केन्द्रीय समिति बैठक सारिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस