बिहेवारी, बीस वर्षपारि नारामा सीमित

रासस

सोमबार, ०६ माघ २०७६, ११ : ४८
बिहेवारी, बीस वर्षपारि नारामा सीमित

- निरज गौतम 
नेपालगञ्ज । युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । 

    बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन् । विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउनुहुन्छ ।   

     जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क  छैन ।  बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ । गत आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ  उजुरी परेको थियो । “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्बाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भन्नुभयो । 
    
    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो  औँल्याउनुुभयो । 

    बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । जिल्लामा बालविवाह बढ्दै गएको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन । 

    नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्र्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । बालविवाहका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजीत तिवारीको सुझाव छ । 

    बाँके  मधेशी र मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो । विशेष गरेर सो समुदायमा २० वर्र्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर कानूनले २० वर्र्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्र्षमा नै  गर्न पाआँै भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी भनेर  टिप्पणी गरेका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस