नेकपाका नेता कार्यकर्तालाई आचारसंहिता : अफ्ठ्यारो काम गर, सरकारलाई सूचना देउ

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, २२ : ३८
नेकपाका नेता कार्यकर्तालाई आचारसंहिता : अफ्ठ्यारो काम गर, सरकारलाई सूचना देउ

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी नेकपाले पार्टीलाई अनुशासित र मर्यादित बनाउन आचारसंहिता निर्माण गरेको छ।  नेकपाले जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेकाले त्यसलाई सफल बनाउन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई आचारसंहिता निर्माण गरेको हो । 

आचारसंहितामा श्रमको सम्मान गर्दै प्रत्येक पार्टी सदस्य जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्ने र आफुले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।  पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने पनि आचारसंहितामा उल्लेख छ । 

यस्तै चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्ने, घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने, 
अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने, कसैलाई पनि हेलाहोचो, गर्न नहुने आचारसंहितामा उल्लेख छ । 

 समाजमा रहेका कुरिती, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिला माथि हुने हिंसाका विरुद्ध सधैँ खडा हुनुपर्ने, त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान संचालन गर्न सधैँ प्रयत्न गर्नुपर्ने विषय पनि त्यसमा राखिएको छ । 
पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने तथा घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने, पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःशर्त पालना गर्ने पनि आचारसंहितामा उल्लेख छ । 

यसैगरी ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याएर काम गर्नुपर्ने, भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिशन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफुसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ । 

सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने, काम बाँडेर गर्नुपर्ने, कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्ने, परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्ने, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम नलगाउने जस्ता विषय समेत आचारसंहितामा रहेको एक नेताले बताए । 

नेकपाको यो आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको रहेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस