गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १४ : ०८
गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा प्रशासन कार्यालयले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् । भिडियोमा उनले प्रहरीप्रति आक्रोश व्यक्त गरेकी थिइन् ।

भिडियो भाइरल बनेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

त्यसक्रममा संकलन गरिएको फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरीको दाबी छ । त्यसपछि श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस