दुई करोड ऋण तिर्न नसक्दा आत्महत्या

पत्रपत्रिकाबाट

शनिबार, ०४ माघ २०७६, ०८ : ०२
दुई करोड ऋण तिर्न नसक्दा आत्महत्या

काठमाडौं । ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ त्रिशूली नदीमा हेलिएको छ। सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती दुई छोरासहित धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए।

नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ। दुई वर्ष र ६ महिनाका दुई छोरा बेपत्ता छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटस्थित विनयको घरबाट प्रहरीले ‘सुसाड नोट’ फेला पारेको छ। ऋणका कारण परिवारसहित आत्महत्या गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ। मिटरब्याजमा लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि दुई छोरासहित पति–पत्नी त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ।

पतिको उद्धार, पत्नीको मृत्यु, दुई छोरा बेपत्ता
मकवानपुरको चित्लाङमा जन्मेका विनय थानकोटमा बस्दै आएका थिए। लामिछानेले ऋण लिएर काठमाडौं तीनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेको खुल्न आएको छ। सेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करिब दुई करोड रुपैयाँ ऋण लिएको सुसाइड नोटबाट पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार सुसाइड नोटमा ऋण दिने व्यक्तिहरूको नाम र तिर्नुपर्ने रकम उल्लेख छ। सुसाइड नोट घरमा छाडेर लामिछाने दम्पती छोराहरू लिएर धादिङ आएका थिए।

आफन्तका अनुसार सानो छोराको शुक्रबार भात खुवाइ ९पास्नी० थियो। घरमा सुत्केरो परेकाले जमुनाको माइतीमा पास्नी गर्ने योजना अनुरुप उनीहरु बिहीबार नै धादिङतर्फ हिँडेका थिए।

आदमघाट बजारस्थित माइती घर नझरीकन उनीहरु बेनिघाट रोराङ गाउँपालिका–४, बाँदरेमोड भन्ने ठाउँमा ओर्लिएका थिए। खोला किनारमा प्रहरीले भेटेको झोलामा पास्नीका लागि ल्याइएका कपडा र हातमा लगाउने वाला छन्। । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस