आस्था राउतले किन मागिन् माफी ?

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, १३ : ३५
आस्था राउतले किन मागिन् माफी ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले फेसबुक लाइभमा आइन् र प्रहरीलाई अपशव्द भाषाको प्रयोग गर्दै गाली गरिन् । गायिका राउतको भिडियो भाइरल भएपछि अहिले उनले भिडियो हटाएकी छन् । फेसबुकमा स्टाटस लेखी माफीसमेत मागेकी छन् । 

पश्चिम सिक्किमको रिम्बी माघे मेलामा प्रस्तुतिका लागि आस्था सिक्किम जाँदै थिइन्। आस्थाको फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताए। विमानस्थलमा आफू माथि दुर्व्यवहार गरिएको भनिएको छ, त्यसको पनि छानविन हुने प्रहरीले जनाएको छ । 

गायिका राउतको पछिल्लो स्टाटसमा भनिएको छ, ‘सर्वसाधारणहरुसँग बोल्दा तुत्क्ष व्यवहार नगरियोस् । तँ तँ र म म गर्न बन्द गरियोस् । नैतिक शिक्षाको कमि नरहोस् । त्यहाँ ममाथिको दुव्यर्वहार अरुले पनि देखिरहेका थिए। तर सबैले हेरि मात्र रहे, केही बोल्नेन्। हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होला ? अपराधीलाई पनि त्यस्तो गर्न पाइँदैन। यो त युनिफर्मको दादागिरी हो। म महिलाबाटै पीडित भएँ। ‘प्रहरी मेरो साथी’ भन्ने नाराको मजाक भएन ? 

उनले थप भनेकी छन्, ‘फेसबुक लाइभा बोल्दै जाँदा अलि चर्को बोलेछु। पीडितको आवाज हो त्यो, मेरो परिवारमा पनि प्रहरी र सेनामा कार्यरत सदस्यहरु हुनुहुन्छ। म संगठनको रेस्पेक्ट गर्छु। तर, मैले एकजना प्रहरीका कारण पुरै प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको होइन, त्यस्तो नियत छैन। एकजना प्रहरीले गरेको व्यवहारका कारण मैले सबैप्रति आक्रोश पोख्न पुगें। मैले केवल यस्ता प्रहरी पनि छन् है भनेर जानकारी र सुझाव मात्र दिएकी हुँ। यद्यपी मैले भिडियामा बोलेका आक्रोशपूर्ण शब्दप्रति क्षमाप्रार्थी छु।’

प्रतिक्रिया दिनुहोस