ओली–प्रचण्डको संवादहीनता तोड्न बादल र विष्णु पौडेल सक्रिय

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, ०९ : ०८
ओली–प्रचण्डको संवादहीनता तोड्न बादल र विष्णु पौडेल सक्रिय

काठमाडौं । सभामुख चयनका विषयलाई लिएर दुई अध्यक्षका वीचमा भएको तिक्तता मेटन र संवादहिनता तोडन नेकपाका दुई नेता सक्रिय हुन थालेका छन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल' र महासचिव विष्णु पौडेल दुवै अध्यक्षलाई सम्वाद गरी आपसी सहमतिका आधारमा सभामुख चयन लगायतका विषय टुंगो लगाउन आग्रह गदै बालुवाटार र खुमलटार दौडधुप गर्न थालेका छन् ।

गत आइतबार यता ओली र प्रचण्डकाबीचमा सम्वाद भएको छैन । ६ पुस सम्मलाई संसद वैठक स्थगित गरेर बसेको सत्तारुढ दलका दुई अध्यक्षका बीचमा सभामुखमा आआफ्ना पात्र रहेको कारण अडान कसले छोड्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ ।
प्रधानमन्त्री ओली विगतको भागवण्डालाई तोडेर आफू अनुकुलका नेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहिरहेका छन् । 

तर अध्यक्ष प्रचण्ड विगतमा सभामुख पूर्व माओवादी धारले पाएको र सोही अनुसार आफूले सभामुख प्रस्ताव गर्न पाउनु पर्ने अडानमा छन् । प्रचण्डको यो अडानमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायत नेताहरु पनि सकारात्मक देखिएका छन् ।

यो हिसावले उनी सचिवालयमा बलियो पोजिसनमा छन् । तर प्रधानमन्त्रीले एकातिर नेम्वाङको अडान नछोड्ने र अर्काेतिर उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराउन सचिवालयले गरेको निर्णय कार्यान्वयनका लागि अडान नलिई चुप बसेर दोहोरो रणनीति अवलम्वन गरिदिएपछि अध्यक्षद्वयका बीचमा तिक्तता बढेको छ ।

सभामुख अन्य नेताहरुले छलफलका आधारमा भन्दा पनि दुई अध्यक्षकै बीचमा मन माझामाझ गरेरै टुंग्याउनु पर्ने भन्दै पार्टी नेताहरु शीर्ष नेतृत्वलाई दवाव बढाउन थालेका छन् । सभामुख चयन नहुदा संसद एक महिनादेखि बन्धक बनेको भन्दै यो अवस्थालाई आइसब्रेक गर्न नेताहरुले ओली प्रचण्ड दुवैलाई दवाव बढाउन थालेका छन् ।

सचिवालयकै दुई नेता भने ओली प्रचण्डलाई सम्वादमा बसेर छिटो सभामुख चयनको निर्णयमा पुग्न भेटेरै आग्रह गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीसँग यो तीन दिन यता महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले व्यक्तिगत रुपमा भेट गरी सभामुख विवादमा धेरै नअल्झिन आग्रह गरेका छन् । यता कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि यी दुई नेताले सम्वाद गरेर छिटो सभामुख चयनमा एउटा निर्णय अध्यक्षद्वयले निकाल्न आग्रह गरिरहेका छन् ।

ओलीसँग सोमबार र मंगलबार र बुधबार समेत तीन दिनै महासचिव विष्णु पौडेलले भेट गरी गतिरोध अन्त्य गर्न प्रचण्डसँगै निरन्तर छलफल गर्न आग्रह गरेका छन् । उनले कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि बुधबार उनकै निवास खुमलटारमा पुगेर सम्वादबाट समस्याको खोजी गर्न आग्रह गरेको उनी निकट स्रोतले बताएको छ ।

उता गृहमन्त्री वादलले पनि सोमबार प्रधानमन्त्रीसँगको भेटमा सभामुख चयनको विवादमा धेरै विलम्व नगरी दुई अध्यक्षले सहमतिको खोजी गर्न आग्रह गरेका थिए । उनले आजै विहान पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर भेट गरी सहमति खोजी गर्न आग्रह गरेका छन् ।

दुई अध्यक्षका बीचमा आज सम्भवत यस विषयमा एक चरण छलफल हुन सक्ने पनि बताइएको छ । बालुवाटार स्रोतका अनुसार तीन दिन यता सम्वादहिनताको अवस्थामा रहेका प्रधानमन्त्री र प्रचण्डका बीचमा आझ साँझ सम्ममा भेट हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस