चैतबाट मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र

पत्रपत्रिकाबाट

मंगलबार, २९ पुस २०७६, ०७ : ३८
चैतबाट मोबाइल कलको शुल्क घट्ने, अन्तरआबद्धता शुल्क १० पैसा मात्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।

अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ । अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्देशिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ ।

अन्तरआबद्धता शुल्क भनेको एक सेवा प्रदायकको नेटवर्कबाट अर्कोमा उपभोक्ताले फोन गरे सेवा प्रदायकले अर्को सेवा प्रदायकलाई निश्चित शुल्क तिर्नुपर्ने शुल्क हो । प्राधिकरणले निर्देशिकामार्फत प्रतिमिनेट १० पैसा शुल्क तोके पनि सेवा प्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्न सक्ने प्रावधान छ ।

अहिले एनसेलका ग्राहकले एनसेलमा र नेपाल टेलिकममा कल गर्दा खासै फरक पर्दैन । तर, नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्छ । नयाँ निर्देशिका लागू भएपछि सिधै असर एनसेललाई नपर्ने र टेलिकमलाई पर्नेछ । टेलिकमबाट एनसेलमा कल गर्दा अब कम्तीमा प्रतिमिनेट ४४ पैसा सस्तो हुनेछ ।

२०६५ सालमा जारी गरेको निर्देशिकामा विकास क्षेत्रअनुसार अन्तरआबद्धता शुल्क फरक–फरक थियो भने अहिले जारी गरेको निर्देशिकाले देशभरिलाई एउटै क्षेत्र मानेर शुल्क निर्धारण गरेको छ ।
निर्र्देशिकाअनुसार एउटा सेवा प्रदायकको फिक्स्ड लाइनका ग्राहकले अर्को अपरेटरको फिक्स्ड लाइन ग्राहकलाई कल गर्दा पहिलो सेवा प्रदायकले दोस्रो सेवा प्रदायकलाई बढीमा प्रतिमिनेट २० पैसा मात्रै तिर्नुपर्छ । अहिले नेपाल टेलिकमबाहेक अन्य सेवा प्रदायकको फिक्सड लाइन छैन । फिक्स्ड लाइनबाट मोबाइलमा गर्दा आन्तरआबद्धता शुल्क १० पैसा हुनेछ । यसैगरी, मोबाइलबाट फिक्स्डमा कल गर्दा अन्तरआबद्धता शुल्क प्रतिमिनेट २० पैसा हुनेछ । मोबाइलबाट मोबाइलमा गर्दा पनि अन्तरआबद्धता शुल्क १० पैसा कायम गरिएको छ । एसएमएस सेवामा पनि प्रतिएसएमएस १० पैसा अन्तरआबद्धता शुल्क तोकिएको छ । सेवा प्रदायकले आफ्नो नेटवर्कमा मात्र फोन लाग्ने र अन्य सेवा प्रदायकमा फोन नलाग्ने गरेको गुनासोलाई पनि निर्देशिकाले सम्बोधन गरेको छ ।

एउटा सेवा प्रदायकबाट कल गर्दा अर्को सेवा प्रदायकमा फोन नलाग्ने हुन नदिनका लागि पूर्वाधार बनाउन पनि निर्देशन दिइएको छ । आफ्नै नेटवर्क प्रयोग गर्दा कम शुल्क लाग्ने र अर्को नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने प्रथालाई अन्त्य गरी धेरै अन्तर बनाउन नपाउने गरी निर्देशिका बनाइएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता अर्यालले बताए । अहिले फरक सेवा प्रदायकमा कल गर्दा प्रतिमिनेट डेढ रुपैयाँसम्म फरक पर्ने गरेको छ । टेलिकमका पोस्टपेड ग्राहकले टेलिकमकै नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले टेलिकमकै नेटवर्कमा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा शुल्क तोकेको छ । एनसेलले भने जुनसुकै नेटवर्कमा फोन गर्दा पनि करसहित २ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ । स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ९२ पैसा लाग्दै आएको छ । निर्देशिका पूर्ण रूपमा लागू भएपछि यो शुल्क घट्नेछ । यो समाचार आजको राजधानी दैनिकमा  पूर्णभक्त दुवालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस