५० करोड राजस्व ठगी गर्ने श्रुति ट्रेडर्स विरुद्ध मुद्धा

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, ०९ : ५०
५० करोड राजस्व ठगी गर्ने श्रुति ट्रेडर्स  विरुद्ध मुद्धा

काठमाडौँ । व्यवसायीहरुले राजस्व ठगीका नयाँ नयाँ तरिका अपनाएर कर छल्दै आएका छन् । यस्तै काम रुपन्देहीको एउटा ट्रेडर्स सञ्चालक तथा मुख्य कारोबारीले गरेको फेला परेको छ । 

उनीहरुले न्युन विजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने गरेको खुल्न आएको छ । त्यतीमात्रै होइन, उनीहरुले फर्ममार्फत मालवस्तु बिना बिल र बिजक विक्री गर्ने तथा मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखाएर आर्थिक अपराधसमेत गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

यसरी कर छलीमा श्रुति ट्रेडर्सका सञ्चालक आशिष गुप्ता र उक्त फर्मका मुख्य कारोवारी सन्नी गुप्ता छन् । अहिलेसम्मको अनुसन्धानमा उनीहरुले झण्डै ५० करोडको राजस्व छली गरेको पाइएको छ । उक्त फर्मले बिल बिजक जारी नगरी माल सामान बिक्री गरी सरकारलाई तिर्नु बुझाउनु पर्ने आयकर चुहावट गरी राजस्व छली गरेको पाइएकाले मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी सोही ऐनको दफा ४ (क) र (ख) बमोजिमको कसुरजन्य कार्य गरेको विभागको दाबी छ । तसर्थः सोही ऐनको दफा २(छ१) बमोजिम हुने श्रुति ट्रेडर्सले ४९ करोड ६५ लाख ९५ हजार राजस्व चुहावट गरेकोे छ । 

ति ट्रेडर्सका प्रोपाईटर आशिष गुप्ता र उक्त फर्मका मुख्य कारोबारी सन्नी गुप्तालाई सोही आरोपमा सोही ऐनको दफा २३ को उपदफा (१) वमोजिम विगो असुल उपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजायमाग गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 

प्रतिक्रिया दिनुहोस